Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

भुक्तानी दाबी गरेका बिमितलाई एक हप्ताभित्र रकम दिइने

लोकपथ संवाददाता १८ कार्तिक २०७७, मंगलबार १९:००
भुक्तानी दाबी गरेका बिमितलाई एक हप्ताभित्र रकम दिइने
शेयर गर्नुहोस् Facebook

काठमाडौं । बीमा समितिबाट जारी गरिएको बीमालेखअनुसार कोरोना बीमा दाबी गरेका बिमितहरुको पिसिआर परीक्षण प्रतिवेदन ‘पोजिटिभ’ प्रमाणित भएपछि बीमालेख बमोजिम प्रदान गरिने बीमाङ्क रकम भुक्तानी दाबी गरेका सबै बिमितहरुलाई सम्बन्धित बीमा कम्पनीले एक हप्ताभित्र भुक्तानी दिने भएका छन् ।

अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा अर्थमन्त्रालयमा आज भएको बैठकले बीमा रकम भुक्तानीसम्बन्धी समन्वय र अनुगमन बीमा समितिले गरी दाबी भुक्तानीको दैनिक प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने निर्णय गरेको छ ।

कोरोना बीमाको दावी भुक्तानीका सन्दर्भमा सेवाग्राहीबाट आएका गुनासाहरुको सुनुवाई गरी समस्या समाधानका लागि सम्बन्धित बीमा कम्पनीहरुलाई निर्देशन दिन ‘हटलाइन’ टेलिफोनसहितको सहयोग कक्ष (हेल्प डेक्स) सञ्चालन गर्ने व्यवस्था बीमा समितिले तत्काल मिलाउने निर्णय पनि भएको छ ।

त्यस अवसरमा मन्त्री पौडेलले बिमितहरुले बिमाङ्क रकम दाबी गर्नासाथ अविलम्ब भुक्तानी दिने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिए । बैठकमा अर्थ मन्त्रालयका सचिवद्वय शिशिरकुमार ढुङ्गाना, रामशरण पुडासैनी, बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँ, बिमक सङ्घका अध्यक्ष दीपप्रकाश पाण्डेलगायत सहभागी थिए । रासस

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।