यातायात कार्यालय आँपटारीमा

चितवन । यातायात व्यवस्था कार्यालय भरतपुरको आँपटारीमा स्थापनाका लागि वाग्मती प्रदेशको मन्त्रिपरिषद्बाट निर्णय भई प्रक्रिया अघि बढाइएको छ । भरतपुर महानगरपालिकाले जिल्लामा यातायात कार्यालय आवश्यकता भएको भन्दै प्रदेश सरकारसँग जग्गा प्राप्तिका लागि निर्णय गरिदिन अनुरोध गरेको थियो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार भरतपुर महानगरपालिका–२ आँपटारीमा रहेको वन मन्त्रालयको खाली जग्गामा यातायात कार्यालय स्थापना गर्नका लागि प्रक्रिया अघि बढाइएको हो । सो ठाउँमा दुई बिघा सात कठ्ठा जग्गा माग गरिएको छ । दाहालले वन मन्त्रालयले प्रदेश सरकारको निर्णय गराएर आउन आग्रह गरेपछि सोहीअनुरुप प्रक्रिया अघि बढाइएको जानकारी दिए । उनले भने, “प्रदेश सरकारले सो जग्गा यातायात कार्यालयलाई दिन अनुरोध गरी निर्णय गरेर पठाएको छ ।” सो निर्णय छिट्टै वन मन्त्रालय पठाएर आवश्यक निर्णयका लागि अनुरोध गरिने उनको भनाइ छ ।

दाहालले कार्यालय सञ्चालन भएसँगै यातायातसँग सम्बन्धित सम्पूर्ण काम यही हुने बताए । जसबाट सङ्कलन भएको राजश्वको ५० प्रतिशत स्थानीय तहले पाउने भन्दै उनले भरतपुर महानगरलाई यसले चौतर्फी फाइदा पुर्याउने बताए। हाल यातायातको कामका लागि यहाँका बासिन्दा वीरगञ्ज र हेटौँडा जान बाध्य छन् ।

वाग्मती प्रदेशका प्रमुख सचिव डा मानबहादुर बिकेले प्रदेश सरकारले भरतपुरको आँपटारीमा रहेको जग्गा यातायात व्यवस्था कार्यालयलाई उपलब्ध गराइदिन निर्णय गरेको जानकारी दिए । जग्गा प्राप्तिसँगै यातायात सेवा कार्यालय रहेको भरतपुरमा यातायात व्यवस्था कार्यालय स्थापना हुने बिकेले जानकारी दिए। उनले भने, “कार्यालय खुलेसँगै चितवनवासीले यातायातसँग सम्बन्धित सबै काम त्यही गर्न पाउने छन् ।”

आवश्यक संरचनाका लागि बजेटसमेत विनियोजन भइसकेको उनले जानकारी दिए। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रीय उपाध्यक्ष राम सुवेदीले विसं २०७४ बाट यहाँ यातायात व्यवस्था कार्यालय स्थापना गर्न पहल थालिएकामा अब बन्ने निश्चित भएको बताए । जग्गा प्राप्ति र आवश्यक पहलका लागि चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’समेत लागिपरेकै कारण अब कार्यालय खुल्नेमा आफूहरु विश्वस्त भएको सुवेदीको भनाइ छ । यहाँ कार्यालय नहुँदा आम नागरिकले दुःख पाएपछि निजी क्षेत्र पनि सक्रियरूपमा लागेको छ ।

कोभिड उपचार निःशुल्क भएपछि परिवारलाई राहत

भरतपुर महानगरपालिका–५ का कृष्णचन्द्र भट्टराईका बुवा ७९ वर्षीय पुष्पराजले कोरोना जित्न सफल भए । लामो अस्पतालको बसाइपछि डिस्चार्ज हुँदै गर्दा अस्पतालमा तिर्नुपर्ने रकम चार लाख रुपैयाँ भन्दा माथि भयो । चितवन मेडिकल कलेजबाट बुवाको डिस्चार्ज गर्दैगर्दा तिर्नुपर्ने रकम देखेर भट्टराई झसङ्ग भयो ।

उनले अस्पतालमा राखेको धरौटी ३३ हजार रुपैयाँ बाहेक बिल चार लाख दुई हजार ४० रुपैयाँ थियो । उनलाई अस्पतालमा भर्नापछि छातीमा संक्रमण देखिएपछि सघन उपचारकक्षमा भेन्टिलेटरमा राखेरसमेत उपचार गरिएको तर रकमको जोहो गर्न नपाउँदै उनलाई थाहा भयो, चितवन मेडिकल कलेजले कोरोना सङ्क्रमितका लागि निःशुल्क उपचार गर्दै आएको छ । भट्टराईले बुवालाई खाना नरुचेर कमजोर भएपछि भदौ ११ गते चितवन मेडिकल कलेज लगेका हुन् । त्यसको भोलिपल्ट उनमा कोरोना संक्रमण देखिएको थियो ।

भट्टराईले भने, “मेडिकल कलेजले संक्रमितको उपचार निःशुल्क गरेकै कारण मजस्ता धेरैले उपचार खर्च जुटाउनु परेन ।” वृद्ध बुवाले कोरोना जितेको र निःशुल्क उपचार पाएकामा उनले खुशी प्रकट गरे । सो मेडिकल कलेज कोरोना उपचार र परीक्षणमा अग्रणी स्थानमा रहेको छ । अस्पतालले हालसम्म २२९ संक्रमितको उपचार गरेको छ । जसमध्ये अस्पतालमा ७२ जना उपचाररत रहेका छन् ।

अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले सरकारले गरेको निर्देशनअनुरुप कोरोना संक्रमितको उपचार सम्बन्धित बिरामीको परिवारलाई निःशुल्क गरिएको बताए । कोरोना संक्रमित बढ्दै गएका कारण अस्पतालको स्रोत साधन उनीहरुको उपचारमा लगाइएको उनको भनाइ छ । कतिपय बिरामीले अन्य समस्या पनि कोरोना संक्रमण देखिएपछि निःशुल्क गर्न दबाब दिएको भन्दै उनले त्यो सम्भव नरहेको बताए । जिल्लामा सो मेडिकल कलेजसहित कोरोनाको उपचार भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र पुष्पाञ्जली अस्पतालले गरिरहेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?