के भन्दै छन् नेकपामा हरिबोलहरू ?

टोपबहादुर र मणिराज थापापछि हरिबोल गजुरेल र देवेन्द्र पौडेलहरूलाई बालुवाटारले फकाउँदै गरेको बताइन्छ । तर, गजुरेल भने नेकपामा स्वतः आइपर्ने र कोही–कसैले सिर्जना गर्ने समस्या समाधानको जिम्मेवारी अरुकोझैँ आफ्नो पनि रहेको बताउँछन् । यदाकदाको बालुवाटार र प्रायः खुमलटार प्रवेश पनि त्यसैको निरन्तरता रहेको उनीनिकट पूर्वमाओवादी नेता स्विकार्छन् ।
उनले ‘पार्टी फुट्न हुँदैन भन्ने तर समस्या समाधानको लागि थप पहल पनि नगर्ने’ अवस्थामा हात बाँधेर बस्नुको तुक नभएको बताउँदै आएका छन् । आफूले दुवै पक्षलाई भेटेर मध्यविन्दु पहिल्याउन प्रयास गर्दा ओली वा प्रचण्ड निकटको आरोप लाग्ने गरेकोमा उनको गुनासो छ । हालको प्रयासलाई मन्त्री खाने बहाना मिलाएको, भारतीय दलालको भूमिका निभाएको भनेर सचिवालय सदस्यहरूबाटै अनौपचारिक तवरले आरोप लगाइएकोमा गजुरेलले निकटस्थहरूसँग गुनासो पोखेका छन् ।
उता, देवेन्द्र पौडेल निकटहरूका अनुसार एकपटक पार्टी फुटाएर बाबुरामसँग हिँडिसकेका कारण उनले प्रचण्डविरुद्ध बेइमानी गर्नेबारे कदापि सोच्न सक्दैनन् । तर, पौडेलको मनको अन्तरकुन्तरमा एक पटक मन्त्री बन्ने इच्छा भने अड्किएको देखिन्छ । मन्त्री बन्नैका लागि सम्पूर्ण राजनीतिक करियरलाई दाउमा राख्न भने नचाहेको उनीहरूको दाबी छ ।
हरिबोलकै लाइनमा पौडेल पनि पार्टी एकतालाई भत्कन नदिई अघि बढ्नुपर्ने सोचमा छन् ।
आफू बालुवाटार रकम बुझ्न गएको, मन्त्री बन्न गएको भन्ने अर्थ लगाइएपछि गजुरेल र पौडेल दुवै रिसले चुर बनेका छन् । स्रोतका अनुसार यतिखेर मन्त्रिमण्डल पुनर्गठन हुने हो भने स्वयं अध्यक्ष प्रचण्डको सिफारिसमा मन्त्री बन्नेहरूको सूचीमा सबैभन्दा अगाडि हरिबोलको नाम छ ।
अहिलेको अवस्थामा अध्यक्ष तथा प्रधानमन्त्री ओलीको निशाना कहाँसम्म पुग्न सक्ला ? भन्ने अनुमानलाई पूर्व माओवादीहरूले आफ्नै ढंगबाट व्याख्या गरेका छन् । उहाँले ‘म आफ्नो अडानमा दृढ छु, सक्छौ भने कारबाही गरेर देखाऊ’ भनेर चुनौती दिएपछि बल खुमलटारको कोर्टमा पुगेको उनीहरूले स्विकारेका छन् । यस्तो अवस्थामा बहुमत पक्षले पार्टीबाट एउटा ठोस निर्णय गरेर केन्द्रीय समितिबाट पारित गराउने हो भने मात्र प्रधानमन्त्रीले आफू कमजोर भएको महसुस गर्नुहुनेछ । अन्यथा, बहुमतमा हुँदा पनि खुमलटार र कोटेश्वरले केही नतिजा देखाउन नसक्नु आफ्नै कमजोरी हो ।
प्रधानमन्त्रीले बालुवाटार पुग्ने जो–कोहीलाई आवश्यकता र अनुकूलताको आधारमा आश्वासन बाँड्नु नौलो विषय होइन । त्यही आश्वासनको पोकोले हिजो जनयुद्धदेखि प्रचण्डका खास मान्छे भनेर चिनिएका लेखराज भट्ट, मणि थापा र टोपबहादुर रायमाझी कमजोर बनेका छन् । अब वर्षमान पुन, हरिबोल गजुरेल, देवेन्द्र पौडेल र जनार्दन शर्मालाई कमजोर बनाउने रणनीति अघि बढिरहेको बताइएको छ । पार्टिभित्रका प्रतिस्पर्धीलाई थप कमजोर बनाएर आफू सर्वेसर्वा बन्न खोज्नु राजनीतिको मूल धर्म हो । अहिले बालुवाटारमा त्यही धर्मले काम गरिरहेको छ । तर, पार्टीभित्रका सबै इकाइमा बहुमत रहेको समूहले केही गर्न सक्दैनन् भने बालुवाटारले यसो ग¥यो र उसो ग¥यो भनेर अघि बढ्नुको तुक देखिँदैन भनिन्छ । जनआस्था साप्ताहिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?