यी आनीबानी आजैबाट हटाउनुहोस्, टर्न सक्छ नोक्सानी !

काठमाडौं – खाना खाने बित्तिकै सुत्ने बानी छ ? एक छाक अटसमटस खाएर अनि निकै ढिला खाने बानी छ ? खानापछि धुमपान मद्यपान गर्नुहुन्छ ? त्यसो हो भने अब तपाईले आफ्नो बानी सच्याउनुहोस् ।

यस किसिमको बानीका कारण तपाईको शरीरमा नकारात्मक असर पर्न जान्छ ।

विभिन्न समयमा भएका शोध र अनुसन्धानहरुबाट आएका रिपोर्ट देखाउँदै चिकित्सकहरु भन्छन्, “बिहानको खाना होस् या रातको खाना खाएपछि सुत्ने बानी स्वास्थ्यको लागि राम्रो होईन बरु शरीरको लागि घातक हुनसक्छ ।”

खानाको सम्बन्धमा एउटा उखानै छ, ‘बिहानको खाना राजा समान, दिउँसोको खाना रोगी समान र रातीको खाना जोगी समान’ । यसको अर्थ हो, बिहानको खाना ‘हेभी’ खानुपर्छ। जसले शरीरलाई आवश्यक पर्ने उर्जा देओस् । दिनभरीलाई शरीरको आवश्यकता पूर्ति गरोस् । तर त्यसपछिको खानाको मात्रा भने क्रमशः घटाउँदै लैजानुपर्ने चिकित्सक सुझाव दिन्छन् ।

खाना खाएपछि गर्न नहुने क्रियाकलाप र बदल्नुपर्ने आनीबानीका विषय यहाँ प्रस्तुत गरीन्छ ।

बिहान सबेरै उठ्ने बानी बसाल्नुपर्छ ।

उठ्नेबित्तिकै एक ग्लास मनतातो पानी पिएर दिनको सुरुवात गर्नुपर्छ ।

नित्यकर्म सकेर योगा, ध्यान पूजापाठ गरी ८ बजे ‘ब्रेकफास्ट’ लिनुपर्छ । (पत्रपत्रिका, न्यूज पोर्टल हेर्दै ब्रेकफास्ट लिँदा देशविदेशका ताजा गतिवीधि पनि थाहा हुन्छ । तर ब्रेकफास्टमा (चिसो, चिल्लो अमिलो पिरो तारेको भुटेको हुनुहुँदैन ।)

त्यसपछि १२ बजेसम्म सामान्य कामहरु गर्ने, कार्यालयका अपडेटहरु राख्ने गर्न सकिन्छ ।

१२ बजे बिहानको खाना खानु राम्रो हुन्छ । तर नेपालका ग्रामिण भेगमा ब्रेकफास्टको चलन नभएका कारण बिहान एक कप चिया वा दुध खाएर ९ /१० बजेतिर खाना खाने चलन छ । त्यसो गर्नुभन्दा ८| १२| ४ | ८ खाना खानुभयो भने राम्रो हुन्छ ।

यो बिचमा गेडागुडी, पौष्टिक तत्वले भरिएका विभिन्न खानेकुरा ( (Nuts )ओखर, बदाम, एक टुक्रा नरिवल, काजु, दाख, मनतातो पानी पिउने ।)

त्यसपछि साँझ ४ बजे खाजा लिने । र, बिचमा शरीरलाई फाईदाजनक सागसब्जी, फलफूल, लिने ।

रातको आठ बजे खाना लिनुहोस् । तर यो साधु सन्तको जस्तै लाईट अर्थात् थोरै हुनुपर्छ । तर राति ८ बजेपछि सकभर खाना खानु हुँदैन ।

बेलुकीको खानामा २–३ वटा सुख्खा गहुँको रोटी, साग र मौसमी तरकारी हुनुपर्छ । तपाईले याद राख्नैपर्ने कुरा के हो भने बिहान एक छाक मात्र भात खाने गर्नुपर्छ । (यो तपाई काम वा उर्जा कति खपत गर्नुहुन्छ भन्ने कुरामा निर्भर गर्दछ ।)

खसी, राँगो, बंगुरको मासुले कोलेस्टेरोल धेरै बढाउँछ । यसकारण माछा र कुखुराको मासु खानुपर्छ । शाकाहारीले (फलफूल, हरिया सागपात र प्रोटिन भएका तरकारी खानुपर्छ ।)

मांशाहारीले भान्छामा पनि अनुशासन पालना गर्नुपर्छ । चिल्लो नराखी माछा र कुखुराको मासु पकाउनुपर्छ । माछा मासु बिहान र दिउँसोको खानामा मात्र प्रयोग गर्नुपर्छ । रातको खानामा मासु खानु हुँदैन । सकेसम्म मासुको प्रयोग उसीनेर गर्ने गरौँ । (नुन, तेल र मसलाको प्रयोग कम गरौँ ।)

बिहान खाना खाएपछि र राति खाना खाएपछि अनिवार्य ब्रस गर्नुपर्छ ।

दिउँसो गुलियो कुरा खाएपछि वा दाँतमा अड्कीने किसीमका कुनै कुरा खाए ३० सेकेण्डसम्म कुल्ला गर्नुपर्छ ।

राति अबेर खाने खाना शरीरको लागि फाईदाजनक हुँदैन । स्वस्थ निरोगी र तन्दुरुस्त रहनको लागि तपाईले अबेर खाना खाने बानी हटाउनुपर्छ ।

धेरैको बानी के हुन्छ भने खाना खानेबित्तिकै सुतिहाल्ने । तर बिहान होस् या राति खाना खानेबित्तिकै सुत्ने बानीका कारण शरीरलाई हानी हुन्छ ।

जब राती अबेर खाना खान्छौँ, खानेकुरा पच्न पाउँदैन । किनभने रातको समयमा विश्राम गरिन्छ । यतिबेला शरीरलाई अतिरिक्त उर्जा आवश्यक हुँदैन । त्यसैले हामीले खाएको खानेकुरा पचाउनै गाह्रो हुन्छ । अब सोच्नुहोस् त उकुसमुकुस हुनेगरी खाएर सुत्दा शरीलाई धान्न कति असहज हुन्छ होला ?

त्यतिमात्रै होईन शरीरमा आवश्यक्ताभन्दा बढी क्यालोरी जम्मा हुन्छ । वोसो लाग्ने, मोटोपन बढ्ने जस्ता समस्या यहीबाट सुरु हुन्छ ।

यस्तो आदतका कारण शरीरमा कोलेस्ट्रोल बढ्छ र मुटुको रोग पनि लाग्न सक्छ ।

थाहा पाउनुहोस् खाना खाने बित्तिकै के गर्नु हुँदैन :
पानी पिउनु हुँदैन
फलफूल खानु हुँदैन
खाना खाने बित्तिकै सुत्नु हुँदैन
हिँड्नु हुँदैन
नुहाउनु हुँदैन
चुरोट तथा मदिरा खानुहुँदैन
चिया पिउनु हुँदैन

अन्य आदत बदल्नुहोस् 

टेलिभिजन वा मोबाइल हेर्दै खाने बानी

मोबाइल, कम्युटर, टिभीमा धेरै समय बिताउने बानी

एकैपटक धेरै खाने बानी

जंकफुडमा मरिहत्ते गर्ने बानी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?