काठमाडौं – नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाग्लुङका २९ वर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो ।
बाग्लुङको मिसिखोला ३ का २९ वर्षिय ती पुरुषको २१ गते क्वारेन्टाईनमा मृत्यु भएको हो । भारतबाट क्षयरोगको उपचार गराएर फर्किएका उनको ढोरपाटन नगरपालिकाको क्वारेन्टिनमा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।
यस्तै, सोमबार नेपालमा थप १ सय ८० जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ । काठमाडौं उपत्यकामा मात्रै सोमबार ५४ जना संक्रमित थपिएका छन् । प्रवक्ता डा गौतमका अनुसार काठमाडौंमा २४, ललितपुरमा २० र भक्तपुरमा १० जनामा संक्रमण देखिएको छ ।
यसैबीच, सोमबार थप २ सय ६४ जना संक्रमित निको भएर घर फर्किएका छन् । यो सँगै हालसम्म संक्रमणमुक्त भएर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ६ हजार ८ सय ११ जना पुगेको छ ।
थपिएका संक्रमितको यस्तो छ विवरण :
बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान प्रयोगशालामा गरिएको परिक्षणमा : झापाका १ जना, सिरहाका १ जना र सुनसरीका १ जना
कोशी अस्पताल विराटनगर प्रयोगशालामा गरिएको परिक्षणमा : झापाका २ जना, सिरहाका १ जना र खोटाङका १ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा : झापाका १ जना
गजेन्द्र नारायण सिंह अस्पताल राजविराज प्रयोगशालामा गरिएको परिक्षणमा : सप्तरीका ६ जना
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको परिक्षणमा : नुवाकोटका १ जना र सर्लाहीका ६ जना
भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा : चितवनका १ जना
किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशाला हेटौडामा गरिएको परिक्षणमा : नवलपरासीका १ जना र रौतहटका ३ जना
धुलिखेल अस्पताल धुलिखेलमा गरिएको परिक्षणमा : काभ्रेपलाञ्चोकका ३ जना नवलपरासीका १ जना, ओखलढुङ्गाका ३ जना र सिन्धुपालचोकका १ जना
पाटन अस्पताल ललिपुर प्रयोगशालामा गरिएको परिक्षणमा : बाराका १ जना, भक्तपुरका १० जना, चितवनका ३ जना, दाङका २ जना, धादिङका १ जना, दोलखाका २ जना, गोरखाका २ जना, झापाका १ जना, कास्कीका १ जना, काठमाडौंका २३ जना, काभ्रेपलाञ्चोकका १ जना, खोटाङका २ जना, ललिपुरका २० जना, मकवानपुरका ५ जना, नवलपरासी पूर्वका १ जना, रौतहटका ३ जना सङ्खुवासभाका १ जना, सप्तरीका २ जना, सिन्धुलीका २ जना, सिन्धुपालचोकका २ जना, सिरहाका १ जना, सुनसरीका १ जना, ताप्लेजुङका १ जना र अर्घाखाँचीका १ जना
त्रिबि शिक्षण अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा : काठमाडौंका १ जना र उदयपुरका १ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परिक्षणमा : बाग्लुङका ६ जना
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा प्रयोगशालामा गरिएको परिक्षणमा : कास्कीका ७ जना,लमजुङका ११ जना र गोरखाका ५ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा : नवलपरासीका ३ जना,पाल्पाका ४ जना र प्यूठानका ४ जना
चौरजारी नगरपालिका प्रयोगशालामा गरिएको परिक्षणमा : जाजरकोटका १ जना
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको परिक्षणमा : डडेल्धुरामा ५ जना र जुम्लाका १ जना
सेती प्रादेशिक अस्पताल प्रयोगशाला धनगढीमा गरिएको परिक्षणमा कैलालीका ८ जना
५०० भनदा बढी संक्रमित भएका ६ जिल्लाहरु :
५ सयभन्दा माथि उपचारमा रहेका संक्रमित भएको जिल्लाहरुमा प्रदेश २ मा २ वटा जिल्ला महोत्तरी र रौतहट
प्रदेश ५ मा एउटा जिल्ला पाल्पा
सुदुरपश्चिम प्रदेशमा ३ जिल्ला अछाम,कैलाली र बाजुरा
कति भयो परिक्षण ?
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ७ सय २१ जनाको परीक्षण भएको छ । योसँगै सोमबारसम्म पीसीआर विधिबाट २ लाख ५५ हजार ७ सय २७ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट ३ लाख ११ हजार ७ सय २४ जनाको परीक्षण भएको छ ।
क्वारेन्टाईनमा कति छन् ?
अहिले देशभरीका क्वारेन्टिनहरुमा २९ हजार २ सय १५ जना रहेका छन् । देशका विभिन्न अस्पतालका आइसोलेसनमा ९ हजार ११८ जना संक्रमित उपचाररत रहेका छन् ।
आत्महत्याबारे बोल्यो मन्त्रालय
मन्त्रालयले पछिल्लो समयमा आत्महत्याका घटनाहरु बढिरहेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । बितेको एक सातामा दुई जना महिलाले फेसबुक लाईभमा आएर आत्महत्या गरेको सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गम्भिर ध्यानाकर्षण भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए । यस्ता घटनाहरुले आत्महत्यालाई प्रेरित गर्ने र बालबालिको दिमागमा नकारात्मक असर पर्ने भएकाले यस्ता भिडियोहरु सेयर नगर्न उनले आग्रह गरे ।
भिडियोहरु देखेपछि तत्काल फेसबुकलाई रिपोर्ट गर्न उनले आग्रह गरे । गत बिहीबार फेसबुक लाइभमा आएर आत्महत्या गरेकी युवती, चितवनमा त्यस्तै प्रकृतिको अर्को घटना भएपछि फेसबुक लाईभमा आत्महत्याको भिडियो र आत्महत्याबारे स्वास्थ्य मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको हो।
काठमाडौं उपत्यकाको समुदायमा कोरोना संक्रमण फैलिएको आशंकामा अध्ययन शुरु
काठमाडौं उपत्यकाको समुदायमा कोरोना भाइरस ‘कोभिड-१९’ को संक्रमण फैलिएको छ वा छैन भन्ने बारेमा अध्ययन शुरु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले काठमाडौंका विभिन्न १० ठाउँमा यसको अध्ययन शुरु गरेको बताएका हुन् ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले भने,- ‘काठमाडौं उपत्यकाको समुदायमा कोरोना भाइरस ‘कोभिड-१९’ फैलिएको छ वा छैन भन्ने बारेमा अध्ययन शुरु भएको छर केहिको स्वाब परीक्षण रिपोर्ट आइसकेको र केहिको बाँकी रहेको छ ।’
उपत्यकाका विभिन्न १० ठाउँबाट स्वाब लिएर परीक्षण गरिएका काठमाडौंको तीनकुने र नक्खुटोलका २२८ जना व्यक्तिहरुको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको उनले बताए ।
साथै विभिन्न ठाउँका स्वाबको परीक्षण रिपोर्ट आउने क्रम जारी रहेको पनि प्रवक्ता गौतमले बताएका छन् ।
ललितपुरमा थपिए हालसम्मकै उच्च संक्रमित :
ललितपुरमा आज एकैदिन २० जनामा कोरोना भाईरस ‘कोभिड १९’ संक्रमण पुष्टि भएको छ । यो हालसम्मकै उच्च संख्या हो । काठमाडौंका विभिन्न ल्याबमा गरिएको परिक्षणका क्रममा ललितपुरका थप २० जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज उपत्यकामा मात्रै (काठमाडौं, भक्तपुर र ललितपुरमा) ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हिजो ललितपुरमा २ जनामा संक्रमण पुष्टि भएको थियो । भने उपत्यकाभर ३० जनामा संक्रमण देखिएको थियो ।
गत असार १ गतेबाट लकडाउन केहि परिमार्जन गरिएसँगै जोर बिजोर प्रणालीमा सवारी साधन चलिरहेका छन् बजारमा बाक्लो भिडभाड छ । सुरक्षाको उपाय बिना नै मानिसहरु निर्वाध घुमफिर गरिरहेका छन् । स्वास्थ्य मन्त्रालयले पटक पटक भौतिक दूरी, मास्क र साबुनपानीको प्रयोग गरौँ भनेर अनुरोध गरिरहेको छ ।
मानिसहरुलाई कोरोना भाईरस ‘कोभिड – १९’ बारे सुन्दासुन्दै वाक्क लागेको छ , तर आफू सुरक्षित रहेर हिड्न भने हेलचक्राई गरिरहेका छन् ।
पछिल्लो एक सातादेखि दैनिक जसो उपत्यकामा संक्रमित बढीरहेको छन् ।
मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्नू : गृह मन्त्रालय
गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ ।
असार १ गते नै सरकारले निर्देशन जारी गरेपनि कार्यान्वयन नभएकाले यसो गरिएको गरिएको गृह प्रवक्ता केदार शर्माले बताए ।बाक्लो भिडभाड हुने घना बस्तीहरुमा कोरोनाको जोखिम उच्च रहेको भन्दै यसअघि पनि स्वास्थ्य मन्त्रालयले बारम्बार सचेत गराउँदै आएको छ ।
उपत्यकाका ३ जिल्लामा ५४ जना संक्रमित थपिए
काठमाडौं उपत्यकामा थपिए ५४ कोरोना संक्रमित पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ३ जिल्लामा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौं जिल्लामा २४, ललितपुरमा २० र भक्तपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो।
पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना जोखिम बढ्दै गएको छ । आइतवार मात्र काठमाडौं उपत्यकामा ३० जनामा कोरोना संक्रमण देखिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया