कोरोनाको कारण ८५ वर्षीय वृद्धको मृत्यु : स्वास्थ्य मन्त्रालय

काठमाडौं । नेपालमा थप १ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

यो सँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

मृत्यु हुनेमा काठमाडौं नयाँ बानेश्वर बस्ने ८५ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

प्रवक्ता गौतमका अनुसार उनमा उच्च रक्तचाप र पार्किन्सनको समस्या रहेको थियो । ती वृद्ध छाती दुखेको र पिसाब कम भएको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।

उनको गत असार १७ गते काठमाडौंको एक निजी अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेका बेला उनको मृत्यु भएको हो ।

नेपालमा आज (शुक्रवार) एकैपटक ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १५ हजार २५० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले नेपालमा बितेको २४ घण्टामा ७४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार आज भेटिएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको छ ।

नेपालमा अहिलेसम्म ६ हजार १४३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण मुक्त हुनहरुको संख्या ८२३ रहेको छ ।

नेपालमा हिजो (बिहीवार) एकैपटक ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?