रवीन्द्र मिश्रको कविता- ‘सर्वाहाराको नेतृत्व’

काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड १९’ को रोकथाम तथा सावधानी स्वरुप विश्वका हरेकजसो देशले लकडाउन नीति अपनाएका छन् । नेपालमा पनि लकडाउन गरिएको आइतवार २७ दिन पुगेको छ ।

लकडाउनका कारण मानिसहरु अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन पाएका छैनन् । यहि समयलाई सदुपयोग गर्दै साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले समसामयिक विषयमा मर्मस्पर्शी कविता लेखेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिएको यो कविता समसामयिक भएको भन्दै विभिन्न कमेन्टहरु पनि गरेका छन् । लोकपथले मिश्रको अनुमतिमा उनको कविता यहाँ प्रस्तुत गरेको छ ।

 सर्वाहाराको नेतृत्व

आजभोली म अलिकति आराममा छु
तर देश हाँक्नु पर्छ
आराम पनि के भन्नु
अलिअलि व्यस्त नै छु
टेलिभिजन धेरै हेर्दिन
पत्रपत्रिका खासै पढ्दिन
पढ्न त्यति मन पनि छैन
चाहिने कुरा आउँदै आउँदैन

तर दिनदिनै
साथीहरू मलाई रिपोर्टीङ् गर्छन्
सबैतिर ठिकठाकै छ रे
सिर्फ केही नेपालीहरू ठाउँ, कुठाउँ
अलपत्र परेका छन् भन्ने सुनेको छु
कस्तो नबुझेका होलान्
लकडाउन भनेको ‘लकडाउन’ हो
नेपालीमा त्यसको अर्थ ‘जो, जहाँ छन्
त्यहीँ बस्ने’ भनेको हो
मैले राम्रोसँग बुझाईदिनु भनेको छु
थप निर्देशन पनि दिएको छु:
तातो पानी खानु, वाफ लिनु
तातो पानीले हात-मुख धुनु
चिसोबाट बच्नु, आइसक्रिम नखानु
मास्कसँगै चस्मा पनि लाउनु

भन्नु पर्ने सबै भनेको छु:
भाइरसलाई जित्न तन्दुरुस्त हुनुपर्छ
खानपिनमा ध्यान दिनुपर्छ
दाउरामा पका’को मिठो हुन्छ
सबै मिलेर दाउरामा पकाउनु
झन राजमार्ग, जङ्गलको बाटोमा त
दाउरा सिंत्तैमा पाइन्छ
सकिन्छ विहान ‘ननभेज’, साँझ ‘भेज’ खानु
खानामा कोरोना प्रतिरोधी मसला हाल्नु
थाहा नभए
सबैसँग मोबाइल हुन्छ, युट्यूबमा हेर्नु
व्यायाम गर्नु, दौडिनु, साइकलिङ् गर्नु
मैले सबै भनेको छु
खाना पुर्याउन निर्देशन पनि दिएको छु

हाम्रा जनता अलि अशिक्षित छन्
कुरा बुझाउन अलि ‘ट्याम’ लाग्छ
आजभोली म ‘थोमस [पिकेटी]’को ‘क्यापिटल’ पढ्दैछु
त्यसले विश्व पुँजिवादले के दियो, के दिएन
राम्रोसँग व्याख्या गरेको छ
तपाईंले बुझिहाल्नु हुन्छ —
सर्वाहाराको नेतृत्व गर्न धेरै गाह्रो छ !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?