७७ वटै जिल्लामा पैतालाका डोब छाडेका २० वर्षे यात्री शरद भन्छन्, ‘नालाको पानीले तिर्खा मेटाएँ’

‘चाउचाउको मसला खाएर भोक मेटाएँ'

काठमाडौं । गोजीमा ७ सय रुपैयाँ र दिदीसँग रोइकराइ गरेर किनिमागेको झोलामा केही जोर कपडा बोकेर वि.सं २०७४ सालमा देशको ७७ वटै जिल्ला पैदल यात्रा गर्न निस्कनुभयो १८ वर्षीया शरद कोइराला । त्यसवेला उहाँ १२ कक्षामा अध्यनरत हुनुहुन्थ्यो । जीवनलाई ‘एड्भेन्चरस’ बनाउने सोच पलाएपछि उहाँले पढाइ छोड्नुभयो । कोर्सका किताबभन्दा जीवनको खुल्ला किताब पढ्ने भोकले आफ्ना उमेरका किशोरकिशोरीभन्दा फरक तरिकाले बाँच्न हुटहुटी लगाएको थियो उहाँलाई । २०७५ कात्तिकमा त्यो सपना पूरा भयो । १४ महिनामा शरदले देशका ७७ वटै जिल्लामा आफ्ना पैतालाका डोबहरु छाड्दै धुलिखेल फर्किनुभयो । विद्यालय, कलेजमा बिताएको केही घण्टाले सिकाउन नसकेको कुरा उहाँलाई यात्राले सिकाइदिएको छ ।

देश घुमेर आइसकेपछि विदेश घुम्ने भोक जागिसकेकाले अब चाँडै नै साइकलमा विश्व भ्रमण गर्न निस्कने शरदको योजना छ । ‘साइकल यात्रा शुरु पनि गरिसकेको थिएँ तर, भियतनाममा भिजाको समस्या प-यो,’ उहाँले भन्नुभयो, ‘भारत र बाङ्लादेश चाहिँ साइकलमै पुगेँ ।’
उहाँको ट्राभलप्रतिको लगाव देखेर प्रश्न नगरी रहन सकिन, ‘घुम्न किन यति धेरै मनपरेको ?’

‘सधैं एउटै रुटिनमा काम गर्न सक्ने मान्छे होइन म,’ उहाँले स्पष्ट विचार राख्नुभयो ।

हुन पनि आजभोलिका युवालाई ‘टेन टु फाइभ’को जागिरले खासै लोभ्याउँदैन । उनीहरु आफ्नै व्यवसाय शुरु गर्नमा बढी लालायित भएको देखिन्छ । तर, शरद जागिर र व्यवसायभन्दा पनि अझै माथि उठेर आफ्नो जीवन बाँच्ने योजनामा हुनुहुन्छ । विश्व भ्रमण सकिएपछि आध्यात्मिक जीवन जिउने सोच छ उहाँको । आफ्नो उमेरको युवाजस्तै पढ्ने, राम्रो जागिर गर्ने वा आफ्नै व्यवसाय शुरु गर्ने, विवाह गरेर ‘सेटल’ हुने सोच चाहिँ पटक्कै नआउने हो भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ, ‘उम्हम्, पटक्कै मनलाग्दैन, यी सबैकुराले मान्छेलाई बाँधेर राख्छन् र म बन्धनमा बस्नै सक्दिन ।’

‘परिवारले आपत्ति जनाउनुभयो भने नि ?’ हामीले प्रश्नको चाङ थप्यौं ।

‘परिवारले त यात्रा शुरु गर्दा पनि खासै साथ दिनुभएको थिएन तर, पछि मैले उहाँहरुलाई मनाएरै छाडें,’ शरद अगाडि थप्नुहुन्छ, ‘त्यसैले म आफ्नो तरिकाले बाँच्न चाहन्छु भनेर कन्भिन्स गर्नसक्छु जस्तो लाग्छ ।’

परिवारलाई नै जानकारी नगराइ यात्रामा निस्कनुभएको उहाँलाई डर थियो कतै परिवारले आफ्नो सपना नबुझ्ने हो कि भनेर । त्यसो त पछि परिवारलाई थाहा भइसकेपछि पनि केही समयसम्म फोनमा कुराकानी गर्दा सबैले फर्केर आइज नै भन्ने गर्नुहुन्थ्यो । यद्यपि, शरदको दृढताको अगाडि परिवारको ‘जिद्दी’ले घुँडा टेक्नैप-यो । जे होस् अहिले शरदका निमित्त पारिवारिक माहौल निकै खुकुलो बनिसकेको छ ।

‘बियर ग्रिल्सजस्तै नालाको पानी पिएँ’

शरदका दुई आइडल हुन् ‘बियर ग्रिल्स र पुष्कर शाह’ । डिस्कभरी च्यानलबाट प्रसारण हुने कार्यक्रम ‘म्यान भर्सेस वाइल्ड’का बियर ग्रिल्स र पृथ्वीलाई साढे ५ फन्को मार्ने नेपाली साइकलयात्री पुष्कर शाहबाट निकै प्रभावित हुनुहुन्छ उहाँ । उनीहरुलाई देखेर नै आफूले यो यात्रा शुरु गरेको बताउनुहुन्छ शरद । आफ्नो यात्रामा उहाँले बियर ग्रिल्सले जसरी नै तिर्खा मेटाउन नालाको पानीसमेत पिएको किस्सा सुनाउनुभयो ।

यद्यपि यी सबै अनुभवहरु सँगालिरहँदा एकपटक पनि आफ्नो निर्णयमा ‘पश्चाताप’ नभएको बताउनुहुन्छ शरद । बरु सुदूर पश्चिमको देउडादेखि पूर्वी नेपालको साकेलामा रमाउन पाउँदा ती सबै तीता यादहरु बिलाएको सुनाउनुहुन्छ उहाँ ।

‘यस्तैले गर्दा देश विकास नभएको हो’

शरदको ‘ट्राभल डायरी’ का पन्नामा जति रोमाञ्चक र अविस्मरणीय क्षणहरुका थान छन् त्यति नै दुखद पलका किस्साहरु पनि । यात्राका क्रममा उहाँले भोक, लाज, निन्द्रा, दुखाइ सबै अनुभूतिहरु आस्वादन गर्नुप-यो । चाउचाउको मसला खाएर जिब्रोलाई थुमथुमाएको क्षण होस् या त भोकभोकै मन्दिर र मस्जिदमा सुतेको अनुभव शरदको मस्तिष्कमा सबै यादहरु ताजा छन् ।
व्यक्तिगत अनुभवहरु त छँदै छन् शरदले अरु व्यक्तिको तीतो अभिव्यक्तिको शिकार समेत हुनुपरेको थियो यात्राका दौरान । त्यही क्रममा भएको एक घटना उहाँले यसरी सुनाउनुभयो, ‘हिँडेर थाकेपछि म एक ठाउँमा आराम गरिरहेको थिएँ एउटा अन्कल मसँग कुरा गर्न थाल्नुभयो । मैले आफ्नो यात्रा र योजनाको बारेमा उहाँलाई सुनाएपछि उहाँले भन्नुयो ‘यस्तै मान्छेहरुले गर्दा देश विकास नभएको हो, पढ्ने उमेरमा कस्तो पागलपन हो यो’ ।

यस घटनाले हामी नेपालीहरुको सोचाइस्तर झल्काउने बताउँदै शरद भन्नुहुन्छ, ‘हरेक व्यक्तिको जीवन जिउने तरिका फरक हुन्छ, स्कुल र कलेजका किताबले मात्र मान्छेलाई शिक्षित बनाउने हो र ?’

आफ्नो मनको बाटो हिँड्न डराउनु हुँदैन भन्ने त शरदको जीवनले पनि सिकाउँछ । त्यसैले त आफ्नै परिवारको पूर्ण साथसहयोगविना र चौतर्फी निन्दा र आलोचनाका बावजुत पनि उहाँले आफ्नो यात्रा पूरा गरेरै छाड्नुभएको छ । र, थप यात्राका लागि तयारी शुरु गरिसक्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?