सेतो पुतलीले बनाउन सक्छ दृष्टिविहीन, यसबाट बच्न अपनाउनुस् यस्ता उपाय

काठमाडौं । सेतो पुतलीका ३ सय प्रजाति हुन्छन् । त्यसमध्ये एक प्रजाति अरु भन्दा अलि खतरनाक हुन्छ । प्राय रातको समयमा बत्तीमा घुम्ने यस प्रजातीको पुतलीले आँखामा आक्रमण गर्ने गर्दछ । भर्खर जन्मिएकादेखि हिँडडुल गर्न नसक्ने बालबालिकाहरुलाई यसले बढी आक्रमण गर्ने गर्दछ ।
शिरमा तेर्सो र शरीरमा ठाडो कालो धर्सो भएको यो सधै देखिन्न । प्राय भदौ र असोजमा देखिने गर्दछ । यसको झुसका कणहरु आँखामा पर्नासाथ आँखा रातो हुने, चिलाउने, धेरै दुख्ने, सुनिने हुँदै अन्ततः आँखा टालिने सम्भावना हुन्छ । २४ घण्टाभित्र उपचार नपाएमा व्यक्तिले आँखाको ज्योति समेत गुमाउने खतरा हुन्छ । समयमै अस्पताल पुर्याउन सकिएको खण्डमा भने औषधी उपचारद्वारा निको पार्न सकिन्छ ।

यो प्राय सेतो बत्तीमा घुम्ने भएकाले घर वा कार्यालयमा सेतो बत्तीको प्रयोग नगर्नु नै उचित हुन्छ ।
नेपालमा पहिलोपटक यो रोग पोखरामा देखिएको डाक्टरहरुको दाबी छ । वि सं २०३२ सालमा २६ वर्षभन्दा मुनिका मानिसहरुमा यो रोग देखिएको थियो । शुरुमा आँखा पाक्ने रोगको संज्ञा दिइएपनि पछि विज्ञहरुले यसलाई ‘सापु’ नाम दिएका थिए । सेतो पुतलीका कारण आँखामा समस्या देखिएपनि के कारणले ‘इन्फेक्सन’ हुन्छ भन्ने पत्ता लाग्न सकेको छैन ।
पछिल्लो समय पोखरामा यसको सङ्क्रमण धेरै देखिएको छ । दुईवर्ष अघि नै यसको सङ्क्रमणबाट पोखरामा २६ जना बिरामीले उपचार गराइसकेको हिमालयन आँखा अस्पताल पोखराका प्रमुख डा. इन्द्र महर्जनले बताउनुभयो । यस वर्ष पनि भदौ १६ र १७ गते गरी २ जना र पछि थप ४ जना पुतलीको आक्रमणमा परेकाले हाल ६ जना अस्पतालमा भर्ना भएको डा. महर्जनले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?