रविन्द्र मिश्रको कामनाः रवि लामिछाने निर्दोष सावित हुन् !

काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने ‘निर्दोष सावित हुन्’ भन्ने कामना गर्नुभएको छ । संयोजक मिश्रले सामाजिक सञ्जाल फेसबुक मार्फत पक्राउ परेका रविसहित पत्रकार युवाराज कँडेल र अस्मिता कार्की निर्दाेष सावित हुन् भन्ने कामना गर्नुभएको छ । उहाँले फेबुकमा ‘दिनदुखीका आवाज बोलेर अनि तिनलाई सहयोग गरेर सम्मान कमाएका रवि लामिछाने’माथि लागेको आरोप गलत भएको सुन्न चाहेको उल्लेख गर्नुभएको छ ।

समता स्कुल प्रकरणलाई जोड्दै उहाँले रविको बारेमा आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो ।

उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘ देशमा ५० हजारभन्दा बढी न्यून आयका विद्यार्थीलाई रू १०० मा पढाएर एसइईमा राम्रो नतिजा लेराउने समता स्कूलका संस्थापक उत्तम सञ्जेलकी श्रीमती कला सञ्जेल र दिनदुखीका आवाज बोलेर अनि तिनलाई सहयोग गरेर सम्मान कमाएका रवी लामिछानेले लगभग एउटै प्रकृतिको आरोप खेपिरहेका छन् । उनीहरूसँगै अन्य चारजना पनि आरोपित छन् । कानूनको परिपालना गर्ने क्रममा ५ महिनाकी गर्भवती कला सञ्जेल र अन्य दुईजना कयौँ दिन हिरासत र जेलमा विताउन वाध्य भए । त्यसैगरी लामिछाने र अन्य दुईजना हिरासतमा समय विताउन वाध्य भएका छन् । उनीहरू सबैले आफू निर्दोष भएको र दोषी भए कानून बमोजिम कारवाहीका लागि तयार भएको बताएका छन्, छानविनमा सघाइरेहका छन् । उनीहरूका नाम किटान गर्दै वितेर गएका दुबैको आत्माले चीर शान्ति पाओस् र परिवारले धैर्य धारण गर्ने शक्ति । तात्कालिक कारण जेसुकै भए पनि चरम ‘डिप्रेशन’ पनि आत्महत्याको एउटा प्रमुख कारण हो । तसर्थ डिप्रेसनलाई अरूजस्तै एउटा विमारीका रूपमा लिन, त्यसका बारे चर्चा गर्न र डाक्टरको सल्लाहमा औषधी उपचार गर्न प्रेरित गरौँ । हाललाई हृदयदेखिको कामना यत्ति छ कि रवी लामिछाने र अन्य दुईजना तथा कला सञ्जेल र अन्य दुईजना सबै निर्दोष सावित हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?