पक्राउ परेका रवी लामिछानेसहित तीनै जनालाई अदालत लगिँदै

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका रवी लामिछानेसहित तीन जनालाई म्याद थपका लागि चितवन जिल्ला अदालत लैजाने तयारी गरिएको छ ।

पत्रकार पुडासैनीले रेकर्ड गरेको भिडियोको आधारमा चितवन प्रहरीले सञ्चारकर्मी रवी लामिछाने, न्यूज २४ का टिभी जर्नालिष्ट युवराज कँडेल र ओखलढुंगाकी रुकू भन्ने अस्मिता कार्कीलाई हिजो साँझ काठमाडौँबाट पक्राउ गरेको थियो ।

पक्राउ परेका तीनै जनालाई चितवन प्रहरीले न्यायिक हिरासतमा राखेको छ ।

पक्राउ परेका उनीहरुलाई चितवन जिल्ला अदालतमा म्याद थपका लागि लैजाने तयारी गरिएको छ । रवीको समर्थनमा प्रदर्शन हुनसक्ने भन्दै चितवन प्रहरीले जिल्ला प्रहरी कार्यालय चितवन र वरपरको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्ने तयारी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवन मातहतका निकायका प्रहरी, जुनियर प्रहरी अधिकृत, शिक्षालय भरतपुरका सुरक्षाकर्मी तथा हेटौंडाबाट समेत दंगा प्रहरी ल्याइएको छ ।

रविलाई भेट्न उनकी श्रीमती निकिता पौडेलसहित परिवारका अन्य सदस्य तथा नेपाल बार एशोसिएसनका पूर्व महासचिव सुनीलकुमार पोखरेलको नेतृत्वमा कानुन व्यवसायीहरु चितवन आइपुगेका छन् ।

स्वर्गीय पत्रकार पुडासैनीको मृत्युको विषयमा गरेको अनुसन्धानबारे चितवन प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गरी जानकारी गराउने तयारी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले पक्राउ परेका तीनै जनालाई अदालतबाट म्याद थप गरि ल्याएपछि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?