शालिकराम आत्महत्या प्रकरणः अस्मिता कार्की पक्राउ

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गरेको प्रकरणमा प्रहरीले अस्मिता कार्कीलाई पक्राउ गरेको छ । नर्ससमेत रहेकी कार्कीलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले आज(बिहीबार) काठमाडौंबाट पक्राउ गरेको हो । कार्कीलाई महिला प्रहरीको टोलीले पक्राउ गरी भरतपुर लगेको हो ।

कार्की पक्राउ परेसँगै प्रहरीले पत्रकार रवि लामिछाने र युवराज कँडेलमाथि पनि निगरानी बढाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दान मल्लले पुडासैनी हत्या प्रकरणको अनुसन्धान अघि बढिसकेकाले रवि र युवराज पनि प्रहरीको निगरानीमा रहेको जानकारी दिनुभयो ।

आत्महत्या गर्नुअघि शालिकरामले खिचेको भिडियोमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण आफूले आत्महत्या गर्नुपरेको कुरा उल्लेख गरेका थिए । पत्रकार पुडासैनीको शव चितवनका एक होटलमा साउन २० गते फेला परेपछि अनुसन्धान थालेको थियो । पुडासैनीले आत्महत्या गर्नुअघिको करिब ८ मिनेट लामो भिडियो नै बुधबार सार्वनजिक भएपछि प्रहरीमाथि तीव्र दबाब परिरहेको अवस्थामा कार्की पक्राउ परेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?