धुवाँमा उडिरहेको मान्छेलाई प्रयोग गरेर म माथि आक्रमण भयोः रवी लामिछाने

काठमाडाैं । पत्रकार रवी लामिछानेले आफूमाथि लागेको हत्या आरोप निराधार रहेको स्पष्ट पार्नुभएको छ । साउन २९ गते बुधबार सार्वजनिक दिवंगत शालिकराम पुडाशैनीले बोलेको एक भिडियोमा आफ्नो हत्या रबिका कारणले भएको आरोप लगाइएपछि रवीले आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्नुभएको हो ।

भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा रबिका पक्ष तथा विपक्षमा टिका–टिप्पणी भइरहेका छन् । कतिपयले रबिकै कारण पुडाशैनीले आत्महत्या गरेकाले उनलाई कानुन अनुसार कारवाही गर्नुपर्ने बताइरहेका छन् भने कतिपयले उक्त भिडियो सुनियोजित रुपमा रबिलाई फसाउनका लागि बनाइएको टिप्पणी गरिरहेका छन् ।

‘धुवाँमा उडिरहेको मान्छेलाई प्रयोग गरेर म माथि आक्रमण भएको छ’


बिहीबार बिहान एक भिडियो मार्फत रबिले ‘धुवाँमा उडिरहेको मान्छेलाई प्रयोग गरेर आफूमाथि आक्रमण भएको’ बताउनुभएको छ । उहाँले आफूमाथि विभिन्न व्यक्ति तथा समुहबाट बारम्बार आक्रमण हुने गरेको तर पहिलोपटक मरेको मान्छेको प्रयोग गरी आक्रमण भएको पनि उल्लेख गर्नुभएको छ । भिडियोमा भावुक देखिनुभएका पत्रकार रवीले पछिल्लो घटनाले आफ्नो चित्त दुखेको समेत बताउनुभएको छ । आफू प्रहरीसँग निरन्तर सम्पर्कमा रहेको र प्रहरीले एक विज्ञप्ति मार्फत घटनाको अनुसन्धान गरिरहेको जनाएको पनि भिडियोमा रवीले बताउनुभएको छ । उहाँले दिवंगत पुडाशैनीको परिवारसँग पनि आफू निरन्तर सम्पर्कमा रहेको पनि जानकारी दिनुभएको छ ।

‘घटनाको तत्काल छाविन होस्’


भिडियोमा रबिले आफू र आफ्नो टिमको कुनै संलग्नता नरहेको पटक–पटक दोहे-याउनुभएको छ । प्रहरीले तत्काल अनुसन्धान गरेर यथार्थ बाहिर ल्याउनुपर्ने उल्लेख गर्दै उहाँले घटना छानविनलाई सघाउन आफु जतिसुकैबेला तयार रहेको स्पष्ट पार्नुभएको छ । उहाँले छानविनका लागि प्रहरीले कल, मेसेज लगायत सम्पूर्ण विवरण हेर्न सक्ने समेत प्रष्ट पार्नुभएको छ ।


‘भ्रष्टचार गरेको प्रमाणित भए पेशाबाट सदाका लागि बिदा लिन्छु’


पुडाशैनीले बोलेको भिडियोमा रबिले करोडौं भ्रष्टचार गर्ने गरेको आरोप लगाइएको छ । तर, रबिले भने आफूले अहिलेसम्म एक पैसाको चलखेल नगरेको प्रष्ट पार्नुभएको छ । उहाँले यदि, आर्थिक चलखेल गर्ने सोच आयो भने सदाका लागि पेशा छाड्ने बताउनुभएको छ । दिवंगत पुडाशैनीले बोलेको भिडियोमा रवीले विज्ञापन एजेन्सीको प्रयोग गरेर विभिन्न उद्योग तथा कलकारखानाबाट करोडौं लिने गरेको आरोप लगाइएको छ ।


‘पुडाशैनीले चित्त दुखाएकै हुन्’


न्युज ट्वान्टीफोर टेलिभिजनमा आउने ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका पूर्व रिपोर्टर पुडाशैनीले करिब दुई महिनाअघि राम्रो अवसर आएको भन्दै उक्त टेलिभिजन छाड्ने बताएका रवीले जानकारी दिनुभएको छ । ‘मार्केटिङ’का लागि माउन्टेन टेलिभिजनबाट राम्रो अवसर आएको भन्दै पुडाशैनीले रुँदै न्युज ट्वान्टीफोर टेलिभिजन छाडेको रबिको भनाई छ । आफूले राम्रो अवसरबाट बञ्चित गर्न नसक्ने भएकाले खुसीकासाथ पुडाशैनीलाई बिदा गरेको रबिले भिडियोमा उल्लेख गर्नुभएको छ ।

तर, पछि गएर पुडाशैनीले माउन्टेन टेलिभिजनमा पनि रिपोर्टरको नै काम गरिरहेको थाहा पाएपछि आफ्नो चित्त दुखेको रवीको भनाई छ । पुडाशैनीले न्युज ट्वान्टीफोर टेलिभिजन छाडिसकेपछि आफ्नो कुनै सम्पर्क नभएको पनि रबिले स्पष्ट पार्नुभएको छ ।

‘मेरो बोलीमा विश्वास नगर्नुहोस्’


भिडियोमा रबिले आफूले बोलेको कुरामा विश्वास नगर्न पनि सबैलाई आग्रह गर्नुभएको छ । प्रहरीले अनुसन्धान गरिहरेको र आफूमाथि लागेको आरोप प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार रहेको उल्लेख गर्दै उहाँले घटनाका तथ्य र प्रमाणलाई विश्वास गर्न आग्रह गर्नुभएको हो ।

तर, रवीले भनेझैँ तथ्य र प्रमाणमा रहेर मात्र विचार बनाउनु नै अहिलेका लागि उत्तम होला । सामाजिक सञ्जालमा आएका टिप्पणी हेर्ने हो भने लाग्छ उनिहरु नै प्रहरी, वकिल, पत्रकार सबै हुन् । अर्कोतिर प्रहरीले अनुसन्धान जारी राखेकाले अहिले नै पक्ष र विपक्षमा उत्रनु राम्रो होइन ।

यसअघि, साउन २० गतेराति चितवनको एक होटेलमा पत्रकार पुडाशैनी झुण्डिएर मरेको अवस्थामा फेला परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?