Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

बाघको जुँगा उखेल्नेलाई पाँच लाख जरिवाना !

बिप्लव जमकटेल १८ असार २०७६, बुधबार १६:१३
बाघको जुँगा उखेल्नेलाई पाँच लाख जरिवाना !
शेयर गर्नुहोस् Facebook

काठमाडौं । मरेको बाघको जुँगा उखेल्नुलाई परम्परागत नेपाली समाजमा पुरुषार्थ मानिँदैन । तर वातावरण सचेत आधुनिक राज्यमा त्यो विषय महङ्गो पर्छ । बर्दिया जिल्ला अदालतले भर्खरैको आफ्नो फैसलामा यसको पुष्टि गरिएको छ ।

गेरुवा गाउँपालिका–४ शान्तिपुर धकनिया निवासी सुन्दरलाल चौधरीले मरेको बाघको जुँगा उखेलेर घरमा लुकाएको आरोपमा पाँच लाख रुपैयाँ जरिवाना तिर्नुपरेको छ । उनलाई बाघ मारेको आरोपसमेत लगाई पक्राउ गरिएको थियो ।

तर बाघ मारेको प्रमाण फेला नपरेपछि जिल्ला अदालतले बाघको जुँगा उखेली घरमा लुकाएको अभियोगमा पाँच लाख रुपैयाँ जरिवाना तिर्न लगाई रिहा गरिदिएको छ ।

बर्दिया जिल्ला अदालतका मुख्य न्यायाधीश किरणकुमार पोखरेलको इजलासले बाघ मारेको आरोपमा पक्राउ परेका चौधरीलाई पाँच लाख रुपैयाँ जरिवाना तिराएको हो ।

फैसलामा अभियुक्त चौधरीले गत पुस २८ गते बाघको जुँगा उखेलेर घरमा लुकाई राखेको प्रमाण फेला परेको र बाघको जुँगा घरमा राख्नु गैरकानूनी भएको उल्लेख गर्दै उक्त जरिवाना तोकिएको हो ।

वन्यजन्तु मारेको र अङ्ग ओसारपसारमा संलग्न अभियुक्तलाई पाँचदेखि १५ लाख रुपैयाँसम्म जरिवाना हुने कानूनी प्रावधान छ । रासस

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।