काठमाडौं । नेपाल पत्रकार महासंघले विभिन्न मागहरु राखेर सरकारविरुद्ध संघर्षमा उत्रिने घोषणा गरेको छ ।
वर्तमान सरकारले सञ्चार क्षेत्रमाथि गरेको विभिन्न घटनाक्रमलाई लिएर पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको हो ।
समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकड, प्रेस स्वतन्त्रता नियन्त्रणको मनसाय राखी प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास, सञ्चारमाध्यममा अनाधिकृत गाडी तेर्स्याउनेलाई हालसम्म कारबाही नगरिएको, गोरखापत्रलगायत सरकारी सञ्चारमाध्यम तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबरजस्ती निष्कासनलगायत, श्रम अधिकारको उल्लंघन, लोककल्याणकारी विज्ञापन बापत पत्रपत्रिकाले प्राप्त गरिरहेको रकम प्रेस काउन्सिल नेपालको सिफारिसबमोजिम नगरेको तथा वर्तमान अवस्थामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति सरकारले अनुदार व्यवहार देखाएको महासंघको आरोप रहेको छ ।
महासंघका महासचिव रामप्रसाद दाहालका अनुसार मंसिर २ गते बुधबार विभिन्न मागसहित महासंघको नेतृत्वमा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ लाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।
मंसिर ५ गते संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुलाई ज्ञापनपत्र बुझाउने, यसैगरी मंसिर ५ र ६ गते शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) सँग छलफल गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी मंसिर ७ गते सबै जिल्ला शाखाले सञ्चारसम्वद्ध संघसंगठनसँग छलफल गर्ने कार्यक्रम तय भएको छ ।
महासचिव दाहालका अनुसार मंसिर ९ गते जिल्ला शाखाको आयोजनामा सबै जिल्ला प्रशासन कार्यालयमा ‘पत्रकारलाई सामुहिक गिरफ्तार गर’ भन्ने व्यानरसहित भेला हुने र माग पूरा नभए थप आन्दोलन गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया