भारतले नेपाललाई हिउँदमा ३५० मेगावाट बिजुली दिने

लोकपथ
0
Shares

काठमाडौं । भारतले आगामी हिउँदयाममा नेपाललाई ३५० मेगावाट विद्युत् उपलब्ध गराउने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको पहलपछि भारतले उक्त विद्युत् उपलब्ध गराउने निर्णय गरेको हो ।

नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले आज ऊर्जा मन्त्रालयमा मन्त्री श्रेष्ठसँग भेट गरी भारतले हिउँदयाममा नेपाललाई ३५० मेगावाट बिजुली उपलब्ध गराउने निर्णय गरेको जानकारी गराएका हुन् ।

मन्त्री श्रेष्ठका प्रमुख स्वकीय सचिव सञ्जीव महर्जनका अनुसार भोटेकोशी नदीमा आएको बाढीले नेपालको विद्युत् पूर्वाधारमा क्षति पुर्‍याएकाले भारतले नेपालको हिउँदयामको विद्युत् मागलाई गम्भीरतापूर्वक लिँदै आवश्यक बिजुली उपलब्ध गराउने निर्णय गरेको हो ।

गत भदौमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण जलविद्युत् आयोजना तथा संरचनामा क्षति पुग्दा ४३१ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको छ । त्यसपछि कालीगण्डकी र बुढीगण्डकी क्षेत्रमा आएको बाढीले पनि विद्युत् पूर्वाधारमा क्षति पुर्‍याएको थियो ।

विपद्का कारण हिउँदमा विद्युत् आपूर्तिमा समस्या हुन सक्ने देखिएपछि मन्त्री श्रेष्ठले भारतबाट विद्युत् आयातका लागि पहल थालेका थिए । यसका लागि उनले मन्त्रालय, मातहतका निकाय र नेपाल विद्युत् प्राधिकरणलाई परिचालन गरेका थिए ।

मन्त्री श्रेष्ठले हिउँदमा विद्युत् आपूर्तिको व्यवस्था मिलाउन प्राधिकरणका सञ्चालक समिति सदस्यसहित आफ्नो सचिवालयका सदस्यलाई दुई पटक दिल्ली पठाएका थिए । उक्त छलफलपछि भारतबाट विद्युत् आयात गर्ने मोडालिटीसमेत टुंगिएको थियो ।

केही दिनअघि नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिश्रीसँगको भेटमा पनि मन्त्री श्रेष्ठले विद्युत्को सहज आपूर्तिबारे छलफल गरेका थिए । त्यसअघि नेपाल आएका भारतीय ऊर्जा सचिवसँग पनि यस विषयमा छलफल भएको थियो । विदेश सचिव मिश्री भारत फर्किएलगत्तै नेपाललाई ३५० मेगावाट विद्युत् उपलब्ध गराउने निर्णय भएको हो ।

प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणमा मन्त्री श्रेष्ठ पनि नयाँदिल्ली जाने कार्यक्रम छ । उक्त भ्रमणको पूर्वसन्ध्यामा भारतले नेपाललाई विद्युत् उपलब्ध गराउने निर्णय गरेको हो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले २०८३ मंसिर १ गतेदेखि २०८४ साउन १५ गतेसम्म भारतीय बजारबाट विद्युत् आयात गर्ने अनुमति प्राप्त भएको जानकारी दिएका छन् ।

उनका अनुसार मन्त्री, मन्त्रालय र विद्युत् प्राधिकरणको चरणबद्ध प्रयासपछि भारतले सुक्खायामको पिक आवरमा ३५० मेगावाट विद्युत् उपलब्ध गराउने भएको हो । यसले हिउँदमा नेपालको विद्युत् माग धान्न र आपूर्ति व्यवस्थापन सहज बनाउन सहयोग पुग्ने उनको भनाइ छ ।

कार्यकारी निर्देशक श्रेष्ठले भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्ने अनुमतिसँगै नेपालले थप ५६ मेगावाट विद्युत् भारत निर्यात गर्ने स्वीकृतिसमेत पाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?