भाटभटेनीको टंगाल शाखा अब २४ सै घण्टा खुला रहने

लोकपथ
0
Shares

काठमाडौं । भाटभटेनी सुपरस्टोरको काठमाडौंस्थित टंगाल शाखा आजदेखि २४ सै घण्टा सञ्चालनमा आएको छ । ग्राहकलाई आफूलाई अनुकूल समयमा किनमेल गर्न सहज होस् भन्ने उद्देश्यले शाखालाई चौबिसै घण्टा खुला राखिएको हो ।

भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलका अनुसार अब ग्राहकले रातिको समयमा पनि टंगाल शाखामा पुगेर आवश्यक सामान खरिद गर्न सक्नेछन् ।

यसअघि भक्तपुरको राधेराधे शाखाबाट भाटभटेनीले २४ सै घण्टा सेवा सुरु गरेको थियो । सोही सेवा विस्तार गर्दै कम्पनीले टंगाल शाखालाई पनि रातदिन खुला राख्ने निर्णय गरेको हो ।

व्यवसायी मीनबहादुर गुरुङले ४२ वर्षअघि काठमाडौंको टंगालबाट भाटभटेनी सुपरस्टोर सुरु गरेका थिए । अहिले कम्पनीले देशभर २७ वटा स्टोर सञ्चालन गरिरहेको छ । कम्पनीले वार्षिक करिब ३२ अर्ब रुपैयाँ कारोबार गर्दै आएको छ भने २२ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ ।

यसअघि २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा टंगालस्थित भाटभटेनीको मुख्य स्टोरमा आगजनी र तोडफोड भएको थियो । उक्त घटनामा स्टोर पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो । आन्दोलनका क्रममा देशभरका भाटभटेनीका १२ वटा स्टोरमा पनि आगजनी, लुटपाट र तोडफोड भएको थियो ।

कम्पनीले आफ्नै लगानीमा टंगाल शाखाको पुनर्निर्माण गरेको थियो । पुनर्निर्माणपछि गत असोज ५ गतेदेखि उक्त शाखा पुनः सञ्चालनमा आएको थियो ।

अब २४ सै घण्टा सेवा सुरु भएपछि व्यस्त समय भएका ग्राहकले राति पनि आवश्यक सामग्री खरिद गर्न सक्नेछन् । यसबाट ग्राहकलाई आफ्नो समयअनुसार किनमेल गर्न थप सहज हुने कम्पनीको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?