काठमाडौं । बङ्गलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगञ्जमा सुरक्षा व्यवस्था कडा पारेको छ । सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै सीमा सुरक्षा बल (बिजिबी) का १० प्लाटुन परिचालन गरिएको छ ।
सुरक्षाका लागि ड्रोन, बडी क्यामेरा र दङ्गा नियन्त्रणमा प्रयोग हुने सशस्त्र सवारीसाधनसमेत तैनाथ गरिएको छ ।
हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्कने योजना सार्वजनिक गरेपछि गोपालगञ्जमा उनको पार्टी अवामी लिगका समर्थक सक्रिय भएका छन् । बङ्गलादेशमा अवामी लिगमाथि प्रतिबन्ध लगाइएकाले समर्थकहरूले गर्ने प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै आएको समाचारमा उल्लेख छ ।
यसैबीच, बङ्गलादेशका कानूनमन्त्री मो. असदुज्जमानले हसिनालाई कानूनी प्रक्रियाअनुसार प्रत्यर्पण सन्धिमार्फत स्वदेश फर्काइने बताएका छन् । उनका अनुसार मानवताविरुद्धको अपराधमा दोषी ठहर भएकी हसिनाले फैसलाविरुद्ध अपिल गर्न पाउने ३० दिने समयसीमा सकिएपछि कानूनी विकल्प सीमित हुनेछन् ।
सन् २०२४ को जुलाईमा भएको विद्रोहका क्रममा मानवताविरुद्धको अपराध गरेको अभियोगमा हसिनालाई सन् २०२५ नोभेम्बर १७ मा मृत्युदण्डको सजाय सुनाइएको थियो। उक्त फैसलाको पूर्ण पाठ सन् २०२६ जनवरी १३ मा सार्वजनिक गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया