प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त, हजारौँ उडान प्रभावित

लोकपथ
0
Shares

काठमाडौं । अमेरिकामा प्राविधिक समस्याका कारण राष्ट्रव्यापी रूपमा हवाई सेवा अवरुद्ध हुँदा हजारौँ यात्रु प्रभावित भएका छन् । शुक्रबार चार घण्टाभन्दा बढी समयसम्म हवाई उडान रोकिएपछि विभिन्न विमानस्थलमा यात्रु अलपत्र परेका हुन् ।

अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) का अनुसार प्राविधिक अवरोधका कारण करिब १२ हजार निर्धारित उडान सञ्चालन हुन सकेनन् । शनिबारका लागि तय गरिएका ४१ हजार उडानमध्ये करिब पाँच हजार उडान रद्द भएका थिए ।

शनिबार राति स्थानीय समयअनुसार करिब ८ः१५ बजे उडान रोक हटाइएपछि केही आन्तरिक उडान पुनः सञ्चालनमा आएका छन् । तर, उडान सेवा पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन अझै समय लाग्ने अधिकारीहरूले बताएका छन् ।

एफएएका प्रशासक ब्रायन बेडफोर्डले हवाई यातायात प्रणाली स्थिर र सञ्चालनमा रहेको जानकारी दिएका छन् । उनले उडानमा ढिलाइ र रद्द हुने समस्या अझै देखिए पनि आइतबारसम्म सेवा सामान्य अवस्थामा फर्किने अपेक्षा गरिएको बताए ।

उनले यात्रुहरूलाई परेको असुविधाप्रति क्षमायाचना गर्दै हवाई यातायात नियन्त्रक, विमान चालक तथा परिचारिकाहरूको कामको प्रशंसा गरेका छन् ।

यसैबीच, अमेरिकी गृह सुरक्षा मन्त्री मार्कवेन मुलिनले उक्त समस्या साइबर आक्रमणका कारण भएको कुनै संकेत नरहेको बताएका छन् । उनका अनुसार प्राविधिक अवरोधबाट मानवीय क्षति हुने जोखिम पनि उत्पन्न भएको थिएन ।

यातायातमन्त्री सिन डफीका अनुसार दुर्गम क्षेत्रमा रहेको हवाई यातायात प्रणालीको पुरानो तामाको तारलाई नयाँ फाइबर तारले प्रतिस्थापन गर्ने क्रममा समस्या उत्पन्न भएको हो । प्रणालीको एउटा भाग स्तरोन्नति भइरहेका बेला अत्यधिक भार परेपछि सेवा अवरुद्ध भएको उनले जानकारी दिएका छन् ।

उडान अवरोधबाट प्रभावित यात्रुलाई राहत दिन विभिन्न विमान कम्पनीले टिकट परिवर्तन शुल्क हटाएका छन् । उडान रद्द भएका यात्रुले अर्को उडानमा निःशुल्क यात्रा गर्न वा टिकटको पूर्ण रकम फिर्ता लिन सक्ने व्यवस्था गरिएको छ ।

केही विमान कम्पनीले यो सुविधा शुक्रबार र शनिबारका यात्रुका लागि मात्र नभई आइतबार र सोमबारका लागि टिकट बुक गरेका यात्रुलाई समेत उपलब्ध गराएका छन् ।

अधिकारीहरूले अमेरिकी हवाई क्षेत्र सुरक्षित रहेको र उडान सेवा क्रमशः सामान्य अवस्थामा फर्किरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?