वनप्लस, सामसङ र मोटोरोलाका नयाँ प्रिमियम स्मार्टफोन बजारमा आउँदै

लोकपथ
21
Shares

काठमाडौं । स्मार्टफोन बजारमा वनप्लस, सामसङ र मोटोरोलाले नयाँ फ्ल्यागशिप स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेका छन् । यी कम्पनीका नयाँ फोनमा शक्तिशाली प्रोसेसर, उच्च गुणस्तरका क्यामेरा र ठूलो क्षमताका ब्याट्री रहनेछन् ।

वनप्लसले आफ्नो नयाँ स्मार्टफोन वनप्लस १६ भारतीय बजारमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यसको मूल्य भने अघिल्लो संस्करणको तुलनामा महँगो हुने अनुमान गरिएको छ । र्‍यामलगायत स्मार्टफोनका पार्टपुर्जाको मूल्य बढेकाले यसको मूल्य नेपाली बजारमा करिब १ लाख ३० हजारदेखि १ लाख ४० हजार रुपैयाँसम्म पर्न सक्ने बताइएको छ ।

वनप्लस १६ मा २०० मेगापिक्सेलको क्यामेरा

वनप्लस १६ को भारतीय बजारमा सार्वजनिक गर्ने तयारी तीव्र पारिएको छ । हालै मुम्बईमा भएको एक निजी कार्यक्रममा फोनको आन्तरिक परीक्षणसमेत गरिएको बताइएको छ ।

यो फोनमा ६.७८ इन्चको एलटीपीओ ओएलईडी डिस्प्ले र स्न्यापड्र्यागन ८ एलिट एक्सट्रिम जेन ६ प्रोसेसर रहनेछ । फोटोग्राफीका लागि २०० मेगापिक्सेलको मुख्य क्यामेरा दिइएको छ ।

त्यस्तै, फोनमा १०० वाटको फास्ट चार्जिङ सुविधा र ९ हजार एमएएच क्षमताको ब्याट्री रहने बताइएको छ । यी सुविधाका कारण फोन लामो समय प्रयोग गर्न सकिने अपेक्षा गरिएको छ ।

सामसङ ग्यालेक्सी एस २७ पनि आउँदै

दक्षिण कोरियाली कम्पनी सामसङले पनि आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस २७ बजारमा ल्याउने तयारी गरेको छ ।

यो फोन एसएम–एस९५२बी/डीएस मोडल नम्बरमा भारतीय बीआईएस सर्टिफिकेसन वेबसाइटमा सूचीकृत भएको छ । यसले फोन भारतीय बजारमा आउने तयारीमा रहेको सङ्केत गरेको छ । कम्पनीले आगामी वर्षको सुरुवातमा यसलाई सार्वजनिक गर्न सक्ने अनुमान छ ।

ग्यालेक्सी एस २७ मा ६.३ इन्चको एमोलेड डिस्प्ले र एक्जिनोस २७०० प्रोसेसर रहने बताइएको छ। यसमा १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेज हुनेछ ।

त्यस्तै, २५ वाटको फास्ट चार्जिङ सुविधा र ५० मेगापिक्सेलको सोनी सेन्सरसहित तीनवटा रियर क्यामेरा रहने विवरण सार्वजनिक भएका छन् ।

मोटोरोलाको नयाँ प्रिमियम फोन

मोटोरोलाले आफ्नो नयाँ प्रिमियम स्मार्टफोन मोटोरोला सिग्नेचर २७ विश्व बजारमा सार्वजनिक गरिसकेको छ । अब यो फोन भारतीयसहित एसियाली बजारमा आउने तयारीमा छ ।

अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य करिब १ हजार ५९९ अमेरिकी डलर तोकिएको छ । नेपाली रुपैयाँमा यसको मूल्य करिब १ लाख ३५ हजार रुपैयाँ पर्छ ।

फोनमा ६.८ इन्चको एक्सट्रिम एमोलेड डुओ डिस्प्ले र स्न्यापड्र्यागन ८ एलिट एक्सट्रिम जेन ६ प्रोसेसर दिइएको छ । यसमा ७ हजार एमएएच क्षमताको सिलिकन–कार्बन ब्याट्री राखिएको छ ।

फोटोग्राफीका लागि २०० मेगापिक्सेलको पेरिस्कोप टेलिफोटो क्यामेरासहित ५० मेगापिक्सेलका अन्य दुई क्यामेरा उपलब्ध छन् ।

यी तीनवटै स्मार्टफोन प्रिमियम सेग्मेन्टका भएकाले बजारमा एकअर्काबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । विशेषगरी क्यामेरा, ब्याट्री क्षमता र प्रोसेसरका कारण यी फोनले प्रयोगकर्ताको ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?