नयाँदिल्ली । परम्परागत भारतीय मिठाईजस्तो देखिने बारुद भरिएको पिठोको डल्लो मुखमा विस्फोट हुँदा मध्यप्रदेशमा एक युवकको मृत्यु भएको छ । प्रहरीले शुक्रबार दिएको जानकारीअनुसार ३५ वर्षीय राजेन्द्र बरौतियाको उपचारका क्रममा मृत्यु भएको हो ।
घटना मंगलबार डिन्डोरी जिल्लामा भएको थियो । आगो ताप्न भेला भएका बेला एक गाउँलेले ल्याएको ‘मिठाई’ अर्का व्यक्तिले बरौतियालाई दिएका थिए । मुखमा राखेलगत्तै उक्त वस्तु विस्फोट भएको प्रहरी अधिकारी रेखा सिंहको भनाइ छ ।
स्थानीय केही समुदायले जंगली सुँगुर मार्न पटाका वा खानीबाट प्राप्त बारुद पिठोका डल्लामा भरेर घरेलु बम बनाउने गरेका छन् । ती डल्ला चिनीको सिरपमा भिजाइने लोकप्रिय भारतीय मिठाई ‘रसगुल्ला’ जस्तै देखिने भएकाले झुक्किने सम्भावना हुन्छ ।
गम्भीर घाइते बरौतियालाई अस्पताल लगिए पनि बचाउन नसकिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरी लापरबाहीका कारण ज्यान गएको अभियोग लगाइएको छ ।
घटना नियोजित हत्या थियो वा कसैले गरेको मजाकका क्रममा भएको दुर्घटना भन्ने विषय अनुसन्धान भइरहेको प्रहरी अधिकारी सिंहको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया