भक्तपुर । तिहार नजिकिएसँगै बजारमा फूल तथा मालाको कारोबार बढ्न थालेको छ । विशेषगरी सयपत्री र मखमली फूलको माग बढेपछि काठमाडौं उपत्यकाका किसानहरू फूलखेतीमा व्यस्त भएका छन् । वर्षौंदेखि व्यावसायिक रूपमा फूलखेती गर्दै आएका किसानका लागि यो आम्दानीको राम्रो माध्यम बनेको छ ।
भक्तपुरका ज्ञानेन्द्र थापाले करिब १२–१३ वर्षदेखि व्यावसायिक रूपमा मखमली फूलखेती गर्दै आएका छन् । उनले अहिले करिब दुई रोपनी क्षेत्रफलमा मखमली फूल लगाएका छन् । हरेक वर्ष यही क्षेत्रफलमा खेती गर्दै आएका उनले फूलखेतीलाई नियमित व्यवसायका रूपमा अघि बढाएका छन् ।
तर, यस वर्ष अत्यधिक वर्षा र रोगका कारण फूल उत्पादन घटेको थापाले बताए। धेरै पानी परेपछि फूलका बोट सुक्ने र डढ्ने समस्या देखिएको उनको भनाइ छ। यसका कारण गत वर्षको तुलनामा यस वर्ष कम फूल फुलेको उनले बताए ।
उत्पादन घटे पनि बजारमा मखमली मालाको मूल्य भने बढेको छ। अहिले एउटा मखमली मालाको मूल्य ३० देखि ३५ रुपैयाँसम्म पुगेको थापाले बताए। केही दिनअघि भने उनले प्रतिमाला २५ रुपैयाँमा बिक्री गरेका थिए ।
थापाले असारको मध्यदेखि नै फूल टिपेर माला तयार पार्ने गरेका छन्। साउनको पहिलो र दोस्रो सातादेखि नै माला बिक्रीका लागि बजार पठाउन थालिन्छ। नेपाली मखमली माला भारत, अस्ट्रेलियालगायत देशमा समेत निर्यात हुने गरेको उनले बताए ।
उनका अनुसार व्यापारीले एकपटकमा ४० देखि ५० हजार वटासम्म माला खरिद गरेर विदेश पठाउने गरेका छन् । काठमाडौंको कालीमाटी, इमाडोलसँगै पोखरा र चितवनका बजारमा पनि माला बिक्री हुने गरेको छ ।
मखमली मालाको माग तिहारपछि पनि रहने भएकाले किसानलाई बिक्री गर्न सहज हुने गरेको छ। तिहारपछि बाँकी रहेका माला पनि प्रतिगोटा १० देखि १५ रुपैयाँसम्ममा बिक्री हुने थापाले बताए।
यस वर्ष भारतबाट फूल तथा माला आयातमा प्रतिबन्ध लगाइए नेपाली किसानले राम्रो मूल्य पाउने उनको अपेक्षा छ । गत वर्ष आयातमा प्रतिबन्ध लगाउँदा फूलको राम्रो मूल्य पाएको उनले बताए ।
त्यस्तै, राधिका थापाले पनि करिब १० वर्षदेखि मखमली फूलखेती गर्दै आएकी छन्। सुरुमा धानखेतका आलीमा फूल रोपेर खेती सुरु गरेकी उनले अहिले घरबारीमै मखमली फूल लगाउँदै आएकी छन् ।
राधिकाका अनुसार अहिले एउटा मखमली मालाको मूल्य २५ रुपैयाँ छ । केही समयअघि २१ रुपैयाँमा बिक्री भइरहेको माला तिहार नजिकिँदै जाँदा महँगो हुँदै गएको उनले बताइन् ।
उनले उत्पादन गरेका माला कालीमाटी, इमाडोल, पोखरा र चितवनका बजारमा बिक्री हुने गरेका छन् । व्यापारीले साउन–भदौदेखि नै माला संकलन गरेर अस्ट्रेलिया, जापान र अमेरिकालगायत देशमा पठाउने गरेका छन् । विदेशमा रहेका नेपालीबाट समेत मखमली मालाको माग हुने गरेको उनको भनाइ छ ।
राधिकाले यस वर्ष मखमली फूलखेतीबाट ७० देखि ८० हजार रुपैयाँसम्म आम्दानी गरेको बताइन् ।
उनका अनुसार सयपत्री फूलको माग मुख्य रूपमा तिहारमा बढी हुन्छ । कुकुर तिहारदेखि नै सयपत्री फूलको माग बढ्ने र व्यापारीले अर्डर गर्न थाल्छन् । तर, मखमली माला तिहारअघि नै विदेश पठाउन सकिने र तिहारपछि पनि बिक्री गर्न सकिने भएकाले यसको बजार लामो समयसम्म रहने गरेको छ ।
सानो क्षेत्रफलबाट सुरु गरिएको मखमली फूलखेती अहिले किसानको आम्दानीको राम्रो स्रोत बनेको छ। विदेशमा समेत नेपाली मखमली मालाको माग बढ्दै गएको छ। यद्यपि, मौसममा हुने परिवर्तन, रोगको प्रकोप र विदेशी फूलसँगको प्रतिस्पर्धा किसानका लागि चुनौती बनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया