काठमाडौं । नेपालकी प्रथम महिला सबिना काफ्लेले नेपाली मौलिक संस्कृति, परम्परा र प्रकृतिसँग मानवको सम्बन्ध विश्वमाझ चिनाउन कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्नेमा जोड दिएकी छन् ।
कुकुर तिहार, २०८३ को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले पशुपन्छी तथा प्रकृतिप्रतिको सम्मान र संरक्षण झल्काउने नेपाली चाडपर्वलाई अन्तरराष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नुपर्ने बताइन् ।
उनले कुकुर तिहारलाई धार्मिक तथा सांस्कृतिक पर्वमा मात्र सीमित नराखी पशुप्रतिको प्रेम, निष्ठा, करुणा र सहअस्तित्वको सन्देश विश्वभर पुर्याउनुपर्ने धारणा राखिन् ।
विश्वभर कुकुरप्रतिको आकर्षण बढिरहेको उल्लेख गर्दै उनले कुकुरको पूजा गर्ने नेपालको मौलिक परम्परालाई अन्तरराष्ट्रिय पहिचानका रूपमा स्थापित गर्न सकिने बताइन् । कुकुर तिहारलाई एक दिनको उत्सवमा मात्र सीमित नगरी वर्षभरि नै पशु कल्याणका गतिविधि सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो ।
कुकुरको उचित व्यवस्थापन, खोप, स्वास्थ्य उपचार र उनीहरूप्रति गरिने व्यवहारमा जिम्मेवारीबोध आवश्यक रहेको उनले बताइन् ।
प्रथम महिला काफ्लेले कुकुर तिहारसँगै काग पूजा, गाई पूजा, नाग पूजा, नेवार समुदायको म्हः पूजा र छठ पर्वलाई पनि अन्तरराष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नुपर्ने बताइन् । वर्षा नभएका बेला भ्यागुताको विवाह गराउने परम्पराले समेत प्रकृति र मानवबीचको सम्बन्ध दर्शाउने उनको भनाइ थियो ।
डिजिटल युगमा मानिसबीचको सम्बन्ध तथा मानव र प्रकृतिबीचको निकटता कमजोर हुँदै गएको उल्लेख गर्दै उनले नेपाली मौलिक चाडपर्वले प्रकृतिसँगको सम्बन्ध पुनः स्थापित गर्ने सन्देश दिन सक्ने बताइन् ।
कार्यक्रममा कुकुर तिहारलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्न ‘फ्रम नेपाल विथ पज’, ‘डेज अफ द डग्स’, ‘भिजिट नेपाल डग स्टे’, ‘लभ योर डग्स एभ्री डे’ र ‘कुकुर तिहार नेपाल’ लगायतका ह्यासट्याग सार्वजनिक गरिएको थियो ।
त्यस अवसरमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कुकुर तिहारलाई वर्षको एक दिन पूजा गर्ने परम्परामा मात्र सीमित नराखी वर्षभरि नै पशुप्रति माया, करुणा र जिम्मेवारी देखाउनुपर्ने बताइन् ।
उनले पशु कल्याण र मानव स्वास्थ्य एकअर्काका पूरक विषय भएको उल्लेख गर्दै रेबिज नियन्त्रण, खोप, बन्ध्याकरण तथा जिम्मेवार पशुपालनका लागि सरकार, स्थानीय तह र सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताइन् ।
त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले कुकुर र मानिसबीचको सम्बन्ध प्राचीन समयदेखि नै रहँदै आएको उल्लेख गर्दै नेपाली धर्म र संस्कृतिमा कुकुरको विशेष महत्व रहेको बताए ।
कार्यक्रममा प्रथम महिला काफ्लेले बिन्दु नामक कुकुरको पूजा गरेकी थिइन् । साथै कलाकार बसुन्धरा भुसाल, भुवन चन्द र मिथिला शर्माले सशस्त्र प्रहरीको केनाइन युनिटमा तालिमप्राप्त ‘साम्बा’ नामक कुकुरलाई विशेष सम्मान गरेका थिए ।
कुकुर तिहारको अवसरमा कार्यक्रममा सहभागीहरूले आफ्ना कुकुरहरूको समेत पूजा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया