काठमाडौं । तिहार र छठ पर्वलाई सुरक्षित बनाउन धनुषामा १ हजार २४० भन्दा बढी प्रहरी परिचालन गरिएको छ ।
नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले शनिबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गरिएको जानकारी दिएका हुन् ।
उनका अनुसार तिहारका बेला हुन सक्ने जुवातास, पटका पड्काउने, आगलागी र चोरीका घटना नियन्त्रण गर्न प्रहरीले विशेष निगरानी बढाएको छ ।
शान्ति सुरक्षा कायम गर्न सादा पोशाकका प्रहरी, पैदल तथा मोटरसाइकल गस्ती र रातिको समयमा निगरानी टोली परिचालन गरिएको उनले बताए ।
चाडपर्वमा धेरै मानिस घर छाडेर बाहिर जाने भएकाले चोरीको जोखिम बढ्न सक्ने भन्दै प्रहरीले घरको सुरक्षामा ध्यान दिन आग्रह गरेको छ । घर छाडेर जाँदा नजिकको प्रहरी कार्यालय, छिमेकी वा आफन्तलाई जानकारी गराउन र सम्भव भएसम्म घरको रेखदेख गर्ने व्यक्ति राख्न डीएसपी खनालले सुझाव दिएका छन् ।
त्यस्तै, भीडभाड हुने स्थान तथा सार्वजनिक कार्यक्रममा जाँदा महँगा सुनका गहना र बहुमूल्य सामग्री नलगाउन पनि उनले आग्रह गरेका छन् ।
चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि रोक्दै नागरिकलाई सुरक्षित वातावरणमा पर्व मनाउने व्यवस्था मिलाउन प्रहरी परिचालनलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया