मधेश प्रदेश सरकारबाट बाहिरियो नेकपा, ४ मन्त्रीको सामूहिक राजीनामा

लोकपथ
182
Shares
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव

काठमाडौं । मधेश प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट मन्त्री भएका चार जना मन्त्रीले आज राजीनामा दिएका छन् ।

मधेश प्रदेश सरकारमा सहभागी अर्थमन्त्री युवराज भट्टराई, उद्योग तथा पर्यटनमन्त्री कनिष पटेल, गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो र ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहरलाल कुशवाहाले सामूहिक राजीनामा दिएका हुन् ।

चारै जना मन्त्रीले मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई ह्वाटसपमार्फत राजीनामा पत्र पठाएको नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेतासमेत रहेका अर्थमन्त्री भट्टराईले बताए ।

‘मुख्यमन्त्रीज्यू काठमाडौंमा रहनुभएको छ, त्यहीँ भएर उहाँको ह्वाटसपमा राजीनामा पत्र पठाएका छौँ,’ मन्त्री भट्टराईले भने, ‘आजैदेखि लागू हुनेगरी राजीनामा दिएका छौँ ।’

राजनीतिक निकासका लागि आफूहरूले सामूहिक राजीनामा दिएर सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको पत्र प्रदेश प्रमुखलाई बुझाइसकेको उनले बताए ।

यसअघि गत असोज ३० गते नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट मधेश प्रदेश सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । मधेश प्रदेशमा नयाँ सरकार गठनको कसरतसमेत सुरु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?