काठमाडौं । काठमाडौं महानगरपालिकाले तिहारलाई लक्षित गर्दै फूल तथा माला बिक्रीका लागि विभिन्न स्थान तोकेको छ ।
स्वदेशी किसानले उत्पादन गरेका फूल तथा मालाको बिक्रीलाई सहज बनाउन महानगरले आफ्नो क्षेत्रभित्रका विभिन्न मल, मार्ट, चौर र खुला स्थानमा बिक्रीको व्यवस्था मिलाएको हो ।
महानगरले प्लास्टिकबाट बनेका फूल, माला तथा सजावटका सामग्री बिक्री वितरणमा भने पूर्ण रोक लगाएको छ ।
महानगरले बानेश्वर र शंखमूल क्षेत्रमा एनबी सेन्टर, आई प्लेक्स मल, सेल्सबेरी, बिग मार्ट शंखमूललगायत स्थान तोकेको छ । त्यस्तै चाबहिल र सिफल क्षेत्रमा सिफल चौर, एसी कम्प्लेक्स, चाबहिल गणेशस्थान तरकारी बजार र केएल टावर अगाडि फूल तथा माला बिक्री गर्न सकिनेछ ।
कालिमाटी, कलंकी र स्वयम्भू क्षेत्रमा कालिमाटी ब्याङ्क्वेट, कालिमाटी चौखेल, कलंकी भाटभटेनी र स्वयम्भू धर्मचक्र पार्क तोकिएका छन् । गोङ्गबु, माछापोखरी र नयाँ बजार क्षेत्रमा माछापोखरी बुद्ध मल, गुणस्तर खाल्डो, भ्याली कोल्ड स्टोर र गोङ्गबु बिग मार्टमा बिक्रीको व्यवस्था गरिएको छ ।
त्यसैगरी हाँडीगाउँ, महाराजगञ्ज र बालुवाटार क्षेत्रमा हाँडीगाउँका दुई डबली, सेल्सबेरी महाराजगञ्ज, बालुवाटार बिग मार्ट र बाँसबारी बिग मार्टमा फूल तथा माला बिक्री गर्न सकिनेछ ।
काठमाडौं मल, भृकुटीमण्डप, टेबहाल मन्दिर परिसर, लगन, जैसीदेवल, कमलादी, पुतलीसडक, अनामनगर भाटभटेनी, न्युप्लाजा, फोनेक्स टावर बत्तीसपुतली, तीनकुने चौर र कोटेश्वर स्मार्टलगायत स्थान पनि बिक्रीका लागि तोकिएका छन् ।
महानगर प्रहरी बलले व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई प्लास्टिकजन्य फूलमाला बिक्री वितरण नगर्न सूचना जारी गरेको छ ।
महानगरको निर्देशन उल्लङ्घन गरी प्लास्टिकका फूलमाला वा गुणस्तरहीन सजावटका सामग्री बिक्री गरेको पाइएमा त्यस्ता सामग्री जफत गरिने महानगरले चेतावनी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया