काठमाडौं । अमेरिकामा आज मध्यावधि (मिडटर्म) निर्वाचनका लागि मतदान हुँदै छ । यस निर्वाचनलाई राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको रिपब्लिकन पार्टीका लागि महत्वपूर्ण परीक्षाका रूपमा हेरिएको छ ।
निर्वाचनमा अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सबै ४३५ र माथिल्लो सदन सिनेटका ३५ सिटका लागि प्रतिस्पर्धा हुँदै छ । यसका साथै केही राज्यमा गभर्नर पनि चुनिनेछन् । मतदानको समय भने राज्यअनुसार फरक हुनेछ ।
राष्ट्रपतीय निर्वाचन भएको दुई वर्षपछि मध्यावधि चुनाव हुने गर्छ । हाल अमेरिकी संसद्का दुवै सदनमा ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत छ । तर, यसपटक कुनै एक सदनमा मात्रै बहुमत गुमाए पनि ट्रम्पलाई आफ्ना नीतिअनुसारका विधेयक पारित गराउन कठिन हुन सक्छ ।
अमेरिकी सिनेटमा कुल १०० सिट छन् । हाल रिपब्लिकन पार्टीसँग ५३ र डेमोक्रेटिक पार्टीसँग ४५ सिट छन् । दुई स्वतन्त्र सिनेटरले डेमोक्रेटिक पार्टीलाई समर्थन गर्दै आएका छन् । सिनेटमा सामान्यतया बहुमतका लागि ५१ मत आवश्यक पर्छ ।
यसपटक सिनेटका ३५ सिटमा निर्वाचन हुँदै छ । तीमध्ये २२ सिट रिपब्लिकन र १३ सिट डेमोक्रेटिक पार्टीको नियन्त्रणमा छन् । सिनेटमा बहुमत हासिल गर्न डेमोक्रेटहरूले कम्तीमा चार सिट थप जित्नुपर्नेछ ।
त्यस्तै, तल्लो सदनमा बहुमतका लागि २१८ सिट आवश्यक पर्छ । यसपटक सबै ४३५ सिटमा निर्वाचन हुँदै छ । रिपब्लिकन पार्टी दुवै सदनमा आफ्नो बहुमत जोगाउने प्रयासमा छ भने डेमोक्रेटहरू दुवै सदनमा बहुमत हासिल गर्न चाहन्छन् ।
यस निर्वाचनमा महँगी, इरान युद्ध, आप्रवासन नीति, भन्सार महसुल, रोजगारी, गर्भपतनको अधिकार र स्वास्थ्य उपचारको खर्च मुख्य चुनावी मुद्दा बनेका छन् ।
इरान युद्धपछि अमेरिकामा पेट्रोलको मूल्य ५० प्रतिशत र डिजेलको मूल्य ७० प्रतिशतसम्म बढेको दाबी गरिएको छ । इन्धनको मूल्यवृद्धिले रिपब्लिकन पार्टीलाई चुनावी चुनौती थपेको छ । यसैबीच, ट्रम्पको अनुमोदन दर घटेर ३१ प्रतिशतमा पुगेको बताइएको छ ।
त्यस्तै, ट्रम्प सरकारले आप्रवासीलाई देश निकाला गर्ने अभियान तीव्र बनाएको छ । दोस्रो कार्यकालको पहिलो १८ महिनामा करिब नौ लाख ८० हजार मानिसलाई देश निकाला गरिएको दाबी गरिएको छ । तर, आपराधिक अभिलेख नभएका व्यक्तिलाई समेत देश निकाला गरिएको भन्दै सरकारको आलोचना भइरहेको छ ।
ट्रम्पले अमेरिकी उद्योग र रोजगारीलाई संरक्षण गर्ने भन्दै विदेशी सामानमा भन्सार महसुल लगाएका छन् । तर, यसका कारण गाडी, इलेक्ट्रोनिक्स, कपडा र निर्माण सामग्रीको मूल्य बढेको भन्दै आलोचना भइरहेको छ । यसले सर्वसाधारणको खर्च बढाउनुका साथै अमेरिकी किसानको व्यापारमा समेत असर पारेको बताइएको छ ।
गर्भपतनको अधिकार र स्वास्थ्य बिमाको खर्च पनि चुनावका महत्वपूर्ण विषय हुन् । डेमोक्रेटहरू देशभर गर्भपतनको कानुनी अधिकार सुनिश्चित गर्न चाहन्छन् भने रिपब्लिकनहरू यसबारे निर्णय गर्ने अधिकार राज्यहरूलाई दिनुपर्ने पक्षमा छन् ।
यसपटक सिनेटका केही सिटमा रिपब्लिकन र डेमोक्रेटिक उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । टेक्ससमा रिपब्लिकन केन पाक्सटन र डेमोक्रेट जेम्स टालारिकोबीच प्रतिस्पर्धा छ । ओहायोमा रिपब्लिकन जोन हस्टेड र डेमोक्रेट शेरोड ब्राउनबीच प्रतिस्पर्धा भइरहेको छ ।
त्यस्तै, नर्थ क्यारोलाइनामा डेमोक्रेट रोय कूपर सर्वेक्षणमा अगाडि देखिएका छन् । मिचिगनमा डेमोक्रेट अब्दुल अल–सईद र रिपब्लिकन माइक रोजर्सबीच कडा प्रतिस्पर्धा छ भने मेन राज्यमा डेमोक्रेट ट्रोय ज्याक्सन र रिपब्लिकन सिनेटर सुसान कोलिन्सबीच प्रतिस्पर्धा छ ।
यस निर्वाचनको नतिजाले अमेरिकी संसद्मा कुन दलको नियन्त्रण रहने भन्ने निर्धारण गर्नेछ । रिपब्लिकनले बहुमत जोगाए ट्रम्पलाई आफ्ना योजना अघि बढाउन सहज हुनेछ । तर, डेमोक्रेटहरूले कुनै एक सदनमा मात्रै बहुमत हासिल गरे पनि सरकारका नीति तथा कार्यक्रम कार्यान्वयनमा चुनौती थपिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया