मुस्ताङ । अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा भएपछि जिल्लाको जनजीवन प्रभावित भएको छ ।
हिमपातका कारण नेपाल–चीन सीमास्थित कोरला नाका ठप्प भएको छ भने वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा जोमसोम–कोरला सडकखण्ड अवरुद्ध भएको छ ।
प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलका अनुसार शुक्रबार रातिदेखि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा बाक्लो हिमपात भइरहेको छ । त्यस्तै, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङदेखि तल्लो क्षेत्रमा पनि शुक्रबार रातिदेखि निरन्तर वर्षा भइरहेको छ ।
हिमपात र वर्षाका कारण पर्यटक, स्थानीय बासिन्दा तथा कोरला नाकामा सामान ढुवानीका लागि पुगेका कन्टेनर चालक प्रभावित भएका छन् । सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रशासनले पर्यटक तथा सर्वसाधारणलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।
नेपाल–चीन सीमास्थित कोरला नाका तथा आसपासका क्षेत्रमा दुईदेखि तीन फिटसम्म हिउँ जमेको लोमान्थाङ गाउँपालिका–४ न्हेचुङस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) ले जनाएको छ ।
बीओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालका अनुसार हिमपातका कारण जोखिम बढेपछि कोरला नाकातर्फ जाने सडकमा सवारीसाधन तथा पर्यटकको आवागमन रोकिएको छ । न्हेचुङबाट कोरला नाका जाने तथा न्हेचुङबाट जोमसोम झर्ने भन्सार जाँचपास भइसकेका कन्टेनर र विद्युतीय सवारीसाधनलाई समेत आवागमन नगर्न भनिएको छ ।
मौसममा सुधार नआएसम्म नेपाल–चीन सीमा व्यापार तथा निकासी–पैठारी कारोबार सञ्चालन नगर्न अनुरोध गरिएको सशस्त्र प्रहरी निरीक्षक धितालले बताए ।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी गुरुङका अनुसार शुक्रबार रातिदेखि सुरु भएको भारी हिमपात अझै रोकिएको छैन । कात्तिक महिनामै पहिलोपटक यति बाक्लो हिमपात भएको उनले बताए । हिमपातका कारण उपल्लो मुस्ताङका बस्ती, खर्क, पाटन तथा उच्च लेकका क्षेत्र हिउँले ढाकिएका छन् । चिसोसमेत बढेपछि स्थानीयको दैनिकी प्रभावित भएको अध्यक्ष गुरुङले जानकारी दिए ।
यसैबीच, निरन्तर वर्षाका कारण जोमसोम–कोरला सडकखण्डसमेत अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ईश्वर महतका अनुसार घरपझोङ गाउँपालिका–४ जोमसोमदेखि माथिको सडक र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङमा पहिरो खसेपछि यातायात सेवा ठप्प भएको छ ।
मौसम प्रतिकूल रहेकाले सडक तथा नाका क्षेत्रमा यात्रा गर्ने सर्वसाधारण, पर्यटक र ढुवानी व्यवसायीलाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया