विमानस्थल यातायात सेवामार्फत वार्षिक १३ लाखभन्दा बढी यात्रुलाई सेवा

लोकपथ
42
Shares

काठमाडौं । विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३ लाखभन्दा बढी आन्तरिक तथा विदेशी पर्यटक र हवाई यात्रुलाई यातायात सेवा प्रदान गर्दै आएको जनाएको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट नेपाल आउने पर्यटक तथा हवाई यात्रुलाई प्रारम्भिक गन्तव्यसम्म सहज र सुरक्षित यातायात सेवा उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको हो ।

कम्पनीका अध्यक्ष पुरुषोत्तम सिम्खडाले यात्रुको सुविधालाई ध्यानमा राख्दै दिवा तथा रात्रिकालीन समयमा समेत यातायात सेवा सञ्चालन भइरहेको जानकारी दिए । उनका अनुसार कम्पनीले दैनिक झण्डै चार हजारभन्दा बढी यात्रुलाई सेवा प्रदान गर्दै आएको छ ।

हाल कम्पनीले २०८ वटा पर्यटकीय सवारीसाधनमार्फत यात्रुलाई सेवा दिँदै आएको छ । नेपालको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा पर्यटक यातायात सेवाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै अध्यक्ष सिम्खडाले विमानस्थलमा ओर्लिने पर्यटकलाई व्यवस्थित यातायात सेवा उपलब्ध गराउँदा उनीहरूको नेपाल बसाइ सहज र सुखद बन्ने बताए ।

पर्यटकको बढ्दो आवागमनसँगै यातायात सेवालाई थप व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन कम्पनीले निरन्तर काम गरिरहेको उनको भनाइ छ ।

यद्यपि, पछिल्लो समय निजी नम्बर प्लेटका सवारीसाधनले गैरकानुनी रूपमा भाडामा यात्रु बोक्ने क्रम बढ्दा व्यवसायीहरू समस्यामा परेको अध्यक्ष सिम्खडाले बताए । यसले कानुनी रूपमा यातायात सेवा सञ्चालन गर्दै आएका व्यवसायीलाई असर पुर्‍याएको उनको भनाइ छ ।

विसं २०६७ मा स्थापना भएको कम्पनीले हाल ४५० भन्दा बढी स्वरोजगार चालक तथा कर्मचारीलाई रोजगारी प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?