तीन महिनामै व्यापार घाटा ५ खर्ब ३२ अर्ब, नेपालले निर्यात किन बढाउन सकेन ?

लोकपथ
21
Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउनदेखि असोजसम्म) नेपालको व्यापार घाटा ३४।७१ प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार गत वर्षको सोही अवधिमा ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ रहेको व्यापार घाटा यस वर्ष बढेर ५ खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ पुगेको हो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार, तीन महिनामा नेपालले १ खर्ब १४ अर्ब २४ करोड रुपैयाँभन्दा बढीको वस्तु निर्यात गरेको छ । तर, विदेशबाट ठूलो रकमको सामान आयात गर्नुपर्दा व्यापार घाटा बढेको देखिन्छ ।

इन्धन र सवारीसाधनबाट बढी राजस्व
साउनदेखि असोजसम्म नेपालले १ खर्ब १९ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको इन्धन आयात गरेको छ । इन्धन आयातबाट सरकारले २९ अर्ब १७ करोड रुपैयाँभन्दा बढी भन्सार राजस्व संकलन गरेको छ ।

यस अवधिमा ५३ अर्ब १९ करोड रुपैयाँभन्दा बढीको सवारीसाधन तथा पार्टपुर्जा आयात भएको छ । यसबाट सरकारले ३७ अर्ब ६० करोड रुपैयाँभन्दा बढी राजस्व उठाएको छ ।

त्यस्तै, वनस्पति तथा पशुपन्छीजन्य तेल, मेसिनरी उपकरण, विद्युतीय सामग्री, रासायनिक मल, प्लास्टिक, फलाम तथा इस्पात र औषधिजन्य वस्तुको आयात पनि उल्लेख्य रहेको छ ।

तीन महिनामा डेढ खर्बभन्दा बढी भन्सार राजस्व
भन्सार विभागका अनुसार, चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सरकारले १ खर्ब ५० अर्ब ५६ करोड रुपैयाँभन्दा बढी भन्सार राजस्व संकलन गरेको छ ।

कुल राजस्वमध्ये सवारीसाधन तथा पार्टपुर्जाबाट करिब २५ प्रतिशत र इन्धनबाट १९।३८ प्रतिशत राजस्व प्राप्त भएको छ । यसले सरकारको भन्सार आम्दानीमा यी वस्तुको आयातको ठूलो योगदान रहेको देखाउँछ ।

निर्यातमा वनस्पति तथा पशुपन्छीजन्य तेलको हिस्सा बढी
नेपालको कुल निर्यातमा वनस्पति तथा पशुपन्छीजन्य तेल र बोसोको हिस्सा सबैभन्दा बढी रहेको छ । तीन महिनामा ५९ अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको यस्तो वस्तु निर्यात भएको छ। यो कुल निर्यातको ५१ प्रतिशतभन्दा बढी हो ।

त्यस्तै, ४ अर्ब ९७ करोड रुपैयाँभन्दा बढीको मानव निर्मित स्ट्यापल फाइबर तथा ४ अर्ब ६५ करोड रुपैयाँभन्दा बढीको चिया, कफी र मसलाजन्य वस्तु निर्यात भएको छ ।

आयात बढी हुँदा व्यापार घाटा बढ्दो
नेपालले विदेशबाट सामान किन्न ठूलो रकम खर्च गरे पनि निर्यातबाट तुलनात्मक रूपमा कम आम्दानी गरिरहेको छ । इन्धन आयातमा खर्च भएको रकम नै तीन महिनाको कुल निर्यात रकमभन्दा बढी छ ।

आयात बढ्दै जाने र निर्यात अपेक्षित रूपमा नबढ्ने हो भने व्यापार घाटा थप बढ्न सक्छ । त्यसैले स्वदेशी उत्पादन बढाउने, निर्यातयोग्य वस्तुको विकास गर्ने र आयातमा निर्भरता घटाउने विषय नेपालको अर्थतन्त्रका लागि महत्त्वपूर्ण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?