ढल्केवरमा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि बढ्यो

लोकपथ
35
Shares

धनुषा । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा निर्माण हुने क्रिटिकल केयर तथा ट्रमा सेन्टरको टेन्डर प्रक्रिया अघि बढिसकेको बताएकी छन् ।

आइतबार ट्रमा सेन्टर निर्माणका लागि प्रस्तावित जग्गाको स्थलगत निरीक्षण गर्दै मन्त्री मेहताले टेन्डरसम्बन्धी कागजात स्वास्थ्य मन्त्रालयबाट हस्ताक्षर भई पूर्वाधारसम्बन्धी निकायमा पठाइसकिएको जानकारी दिइन् । आवश्यक प्रक्रिया पूरा भएपछि टेन्डर आह्वान गरिने र त्यसपछि निर्माणको काम अघि बढ्ने उनले बताइन् ।

‘ट्रमा सेन्टर बन्छ कि बन्दैन भन्ने अन्योल अब राख्नुपर्दैन । यो आयोजना सरकारको बहुवर्षीय योजनामा समावेश भइसकेको छ,’ मन्त्री मेहताले भनिन् ।

निर्माणस्थलको निरीक्षणबाट आवश्यक तयारी उपयुक्त देखिएको उल्लेख गर्दै उनले छिट्टै शिलान्यास हुने विश्वाससमेत व्यक्त गरिन् ।

स्थानीयवासीले लामो समयदेखि ट्रमा सेन्टर निर्माणको आश्वासन पाए पनि काम सुरु नभएकाले आयोजना कार्यान्वयन हुनेमा आशङ्का व्यक्त गर्दै आएका छन् ।

निरीक्षणका क्रममा प्रतिनिधिसभा सदस्य राजकिशोर महतोले भवन निर्माणको काम सुरु भएपछि मात्रै स्थानीयवासी विश्वस्त हुने बताए । आश्वासनभन्दा निर्माण कार्यको सुरुआत महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले शिलान्यासको प्रक्रिया छिटो अघि बढाउन मन्त्रीको ध्यानाकर्षण गराए ।

‘ट्रमा सेन्टरका नाममा यहाँका नागरिक लामो समयदेखि आश्वासन पाउँदै आएका छन् । अब आश्वासनले मात्र चित्त बुझाउने अवस्था छैन । भवन निर्माण सुरु भएपछि मात्रै विश्वास जाग्छ,’ उनले भने ।

निरीक्षणमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलसहित सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?