काठमाडौं । पछिल्लो २४ घण्टामा देशका सात जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरीका अनुसार मकवानपुर, उदयपुर, सप्तरी, सर्लाही, रौतहट, ललितपुर र बाँकेमा भएका दुर्घटनामा उनीहरूको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल, स्कुटर, कार, विद्युतीय गाडी (ईभी), ट्रक र ई–रिक्सा संलग्न थिए ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ स्थित एचआईडी गेटनजिक महेन्द्र राजमार्गमा मोटरसाइकल अनियन्त्रित भएर कारमा ठोक्किँदा २४ वर्षीय सुकराम लोप्चनको मृत्यु भएको छ । कात्तिक ७ गते दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएका हेटौंडा–१३, वनस्पतिका लोप्चनको उपचारका क्रममा हेटौंडास्थित सन्चो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित संगमटोलको भित्री सडकमा स्कुटरको ठक्करबाट ५२ वर्षीय नारायणबहादुर कार्कीको मृत्यु भएको छ । कात्तिक ७ गते राति भएको दुर्घटनामा घाइते भएका कार्कीलाई जिल्ला अस्पताल उदयपुर पुर्याइएको थियो । उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
सप्तरीमा भएका दुई छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । राजविराज नगरपालिका–११ स्थित झल्की चोकमा भएको दुर्घटनामा घाइते भएका २६ वर्षीय सन्दिपकुमार यादवको गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको हो ।
त्यस्तै, शम्भुनाथ नगरपालिका–८ स्थित मिलन चोकमा मोटरसाइकल अनियन्त्रित भएर सडकछेउको पिलरमा ठोक्किँदा २२ वर्षीय सुवास चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित पूर्व–पश्चिम राजमार्गमा ईभी गाडी ट्रकमा ठोक्किँदा ३७ वर्षीय रञ्जित रामको मृत्यु भएको छ । बाराको सुवर्ण गाउँपालिका–४ का राम दुर्घटनामा घाइते भएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रौतहटको माधवनारायण नगरपालिका–६, माधोपुरस्थित मानपुर सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा पछाडि सवार ५० वर्षीया सुनिता देवी पण्डितको मृत्यु भएको छ । कात्तिक ७ गते भएको दुर्घटनामा घाइते भएकी पण्डितलाई गरुडास्थित हेल्थ ल्याण्ड अस्पताल लगिएको थियो । उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
ललितपुर महानगरपालिका–४, मानभवनमा मोटरसाइकलको ठक्करबाट ५० वर्षीया सक्कली तामाङको मृत्यु भएको छ । बाटो काट्ने क्रममा मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी तामाङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाँकेमा भएका तीन छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका–१, सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा दुई कार एकआपसमा ठोक्किँदा कैलालीको धनगढी उपमहानगरपालिका–५ का ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको हो ।
नेपालगन्ज उपमहानगरपालिका–२१ स्थित कान्तिताल परिसरमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा १५ वर्षीय अब्दुल मनिहारको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मनिहारको भेरी अस्पताल, नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी, कोहलपुर नगरपालिका–११ स्थित नयाँ बसपार्कमा ई–रिक्सा अनियन्त्रित भएर पर्खालमा ठोक्किँदा चालक ३८ वर्षीय हरि राम थारुको मृत्यु भएको छ । घाइते थारुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा सात जिल्लामा भएका यी दुर्घटनामा १० जनाले ज्यान गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?













प्रतिक्रिया