सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन अनुबन्ध

लोकपथ
28
Shares

काठमाडौं । वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् ।

३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिन बलर हुन् । तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी अनुभवी टी–२० खेलाडी हुन् । उनले विश्वका विभिन्न फ्रेन्चाइज क्रिकेट लिगमा खेलिसकेका छन् ।

एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । एकदिवसीय क्रिकेटमा उनले २०० रन बनाउनुका साथै सात विकेट लिएका छन् । त्यस्तै, टी–२० अन्तर्राष्ट्रियमा उनले २९८ रन र २४ विकेट आफ्नो नाममा गरेका छन् ।

सबै प्रकारका टी–२० क्रिकेटमा एलेनले १७८ खेल खेल्दै १ हजार ६३४ रन बनाएका छन् भने १०९ विकेट लिएका छन् । यस प्रारूपमा उनको ब्याटिङ स्ट्राइक रेट १३९।८९ छ । उनले १०६ छक्का पनि प्रहार गरेका छन् ।

एलेनले सन् २०१६ मा जमैकाबाट प्रथम श्रेणी क्रिकेटमा पदार्पण गरेका थिए । सन् २०१८ मा भारत भ्रमणका क्रममा उनले वेस्ट इन्डिजको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय टोलीमा स्थान बनाएका थिए । व्यक्तिगत कारणले सन् २०२२ को सुरुवातमा क्रिकेटबाट केही समय टाढिएका उनी सोही वर्षको अगस्टमा पुनः खेलमा फर्किएका थिए ।

त्यसपछि उनले राष्ट्रिय टोलीबाट सीमित अवसर पाए पनि क्यारेबियन, यूएई, दक्षिण अफ्रिका, क्यानडा, पाकिस्तान, भारत, श्रीलंका र बंगलादेशका विभिन्न टी–२० लिगमा खेलेका छन् ।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले एलेनको आगमनले टोलीको स्पिन बलिङ र तल्लो क्रमको ब्याटिङ थप बलियो हुने विश्वास व्यक्त गरेका छन् ।

‘फेबियन एलेन अनुभवी टी–२० खेलाडी हुन् । उनको अलराउन्ड क्षमताले टोलीलाई बलियो बनाउने विश्वास लिएका छौँ । विशेष गरी स्पिन बलिङ र तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनको क्षमताबाट टोलीले फाइदा लिने अपेक्षा गरेका छौँ,’ खड्काले भने ।

सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएपछि एलेनले नेपालमा आएर एनपीएल खेल्न र टोलीको सफलतामा योगदान दिन उत्साहित रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?