आश्विन शुक्ल पूर्णिमा : नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने आज अन्तिम दिन

लोकपथ
28
Shares

काठमाडौं । कोजाग्रत पूर्णिमाका दिन आज नवदुर्गाको प्रसादस्वरूप टीका लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम चलिरहेको छ । टीका थाप्न मान्यजनका घर जानेहरूको चहलपहलका कारण काठमाडौंका सडक तथा बजारमा मानिसको आवागमन बढेको छ ।

विजयादशमीका दिन कात्तिक ४ गते देवी विसर्जन गरेपछि सुरु भएको टीका लगाउने तथा मान्यजनबाट आशीर्वाद लिने क्रम आजसम्म जारी रहेको हो । आज नवदुर्गाको प्रसाद ग्रहण गर्ने अन्तिम दिन भएकाले बिहानैदेखि मानिसहरू टीका थाप्न तथा आशीर्वाद लिन घरबाहिर निस्किएका छन् ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसादस्वरूप टीका लगाउन शास्त्रीय रूपमा कुनै बाधा छैन ।

पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिन मात्र दुर्गाको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद थाप्ने प्रचलन रहेको छ ।

केही दिनदेखि सुनसान रहेको काठमाडौंमा शनिबार बिहानदेखि मानिसको चहलपहल बढेको छ । मानिसको आवागमन बढे पनि सवारीसाधनको संख्या कम हुँदा सार्वजनिक यातायातमा यात्रा गर्नेहरू कोचाकोच गर्न बाध्य भएका छन् ।

बजार तथा सार्वजनिक यातायातमा हिजोको तुलनामा आज टीका थाप्न जानेहरूको चहलपहल बढी देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?