काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठसँग साइबर ब्यूरोले छलफलको तयारी गरेको छ ।
कमेडियन तथा रास्वपा नेता हिमेश पन्तको उजुरीका आधारमा श्रेष्ठमाथि साइबर ब्यूरोले घरमै पुगेर धरपकड गरेको र पक्राउ गरिएको विषय सामाजिक सञ्जालमा यत्रतत्र रहेको छ । तर साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिपकराज अवस्थीले श्रेष्ठलाई पक्राउ नगरिएको लोकपथलाई जानकारी दिए ।
उनका अनुसार आज श्रेष्ठसँग छलफल गर्ने भए पनि बाहिर आएको जस्तो पक्राउ नगरिएको उनले बताए ।
‘उहाँलाई पक्राउ गरिएको छैन, बाहिर जे कुरा आइरहेको छ त्यस्तो होइन । आज उहाँसँग छलफल चाँही हुनसक्छ,’ उनले लोकपथसँग भने ।
ललितपुरस्थित श्रेष्ठको निवासमा प्रहरी पुगेको विषय आफूलाई जानकारी नभएको समेत उनले बताए ।
‘अब उजुरी परेपछि सम्बन्धित पक्षसँग छलफल गर्नु हाम्रो दायित्व हो तर अहिले नै उहाँलाई धरपकड गरिएको र पक्राउ गरिएको भन्ने होइन,’ अवस्थीले भने ।
उहाँको घरमा अहिले प्रहरी पुगेको हो ? उहाँमाथि धरपकड भएको हो ? भन्ने प्रश्नमा उनले लोकपथसँग भने, ‘हाम्रो टिम चाँही होइन अरु कोही गएको भए मैले जान्ने कुरा भएन । पक्राउ गरिएको भन्ने विषय गलत हो ।’
जनआस्था साप्ताहिकका सञ्चालक एवं प्रधानसम्पादक श्रेष्ठले कमेडियन हिमेश पन्त र परिवारले अन्य व्यक्तिको जग्गा हडपेको दाबीसहित समाचार लेखेका थिए । त्यसयता पन्त र श्रेष्ठसहित जनआस्थासँग सामाजिक सञ्जालमा भनाभन चलिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया