‘सांसद खगेन्द्र सुनारमाथि प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’

लोकपथ
49
Shares

काठमाडौं । सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारमाथि आवश्यक परे प्रक्रियाअनुसार अनुसन्धान गरेर अघि बढ्ने बताएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले सांसद सुनारसँग सम्बन्धित विषयमा सरकारले आवश्यक प्रक्रिया अघि बढाउने बताएका हुन् ।

सांसद सुनारले एक महिलामाथि अश्लील शब्द प्रयोग गर्दै धम्की दिएको आरोपसहितको अडियो सार्वजनिक भएको थियो । सोही विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा मन्त्री तिमिल्सिनाले घटनाबारे सरकारको ध्यानाकर्षण भएको र आवश्यक परे अनुसन्धान गरिने बताए ।

सरकारले घटनाबारे आवश्यक चासो नदेखाएको भन्ने आरोपमा सत्यता नरहेको स्पष्ट पार्दै उनले विधिसम्मत ढंगले प्रक्रिया अघि बढ्ने बताए ।

उनले भने, ‘सरकारले आवश्यक पर्दा अनुसन्धान गरेर यसलाई विधिवत् रूपमा कसरी अगाडि बढाउनुपर्छ, त्यसअनुसार अघि बढ्छ । तपाईंले कुन प्रमाणको आधारमा, कुन तथ्यको आधारमा के आधारमा दबाउन खोजिएको भन्नुभयो, सरकारको त्यस्तो कुनै नियत छैन । त्यस्तो हुनु हुँदैन, हुँदैन । आवश्यक सबै प्रक्रिया अगाडि बढ्छ।’

मन्त्री तिमिल्सिनाले सांसद सुनारको विषयमा शुक्रबारको मन्त्रिपरिषद् बैठकले भने कुनै निर्णय नगरेको स्पष्ट पारे । उनले बैठकमा भएका निर्णय सार्वजनिक गर्ने क्रममा सुनारको विषयमा मन्त्रिपरिषद्मा कुनै निर्णय नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?