प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमै चुनौती : मुख्यमन्त्री थापा

लोकपथ
14
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रहरी समायोजन हुन नसक्दा संघीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयनमा चुनौती उत्पन्न भएको बताएका छन् ।

७१औँ प्रहरी दिवसका अवसरमा बागमती प्रदेश प्रहरी कार्यालयले शुक्रबार हेटौँडामा आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले संविधानले प्रदेशलाई दिएको अधिकार र जिम्मेवारी कार्यान्वयनका लागि प्रहरी समायोजन अपरिहार्य रहेको बताए ।

प्रहरी समायोजन नहुँदा प्रदेश सरकारलाई संविधानप्रदत्त अधिकार प्रयोग गर्नसमेत व्यावहारिक कठिनाइ भइरहेको उनको भनाइ थियो । उनले तीनै तहका सरकारबीच आवश्यक समन्वय, सहकार्य र संवाद कायम गरी प्रहरी समायोजनको प्रक्रिया यथाशीघ्र टुंग्याउन आग्रह गरे ।

प्रदेशको भौगोलिक अवस्था, स्थानीय आवश्यकता र सुरक्षा चुनौतीलाई प्रदेश सरकारले नजिकबाट बुझ्ने भएकाले प्रहरी परिचालन, जनशक्ति व्यवस्थापन तथा सेवा प्रवाहमा प्रदेशको भूमिका प्रभावकारी हुने उनले बताए ।

मुख्यमन्त्री थापाले प्रदेशभित्र शान्ति सुरक्षा सुदृढ बनाउने, विपद् जोखिम न्यूनीकरण गर्ने तथा उद्धार र राहत कार्यलाई व्यवस्थित बनाउने विषयमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । नागरिकलाई सुरक्षित वातावरण उपलब्ध गराउन प्रहरी संगठनलाई आवश्यक स्रोतसाधन, प्रविधि र तालिमको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए ।

महिला तथा बालबालिकाको सुरक्षालाई प्राथमिकतामा राख्दै प्रविधिमा आधारित अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो । प्रहरी संगठनलाई सक्षम, आधुनिक, व्यावसायिक र उत्तरदायी बनाउन प्रदेश सरकारका तर्फबाट आवश्यक समन्वय र सहकार्य गरिने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
प्रहरी सेवा निष्पक्ष, पारदर्शी, संवेदनशील र नागरिकमैत्री हुनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री थापाले कानुनको निष्पक्ष कार्यान्वयन र नागरिकको अधिकार संरक्षण प्रहरी संगठनको महत्वपूर्ण जिम्मेवारी भएको बताए ।

प्रहरीप्रतिको जनविश्वास संगठनको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै उनले प्रहरीको काम र व्यवहारबाट कानुन सबैका लागि समान रहेको अनुभूति नागरिकले गर्न पाउनुपर्ने बताए । पहुँच, प्रभाव र व्यक्तिगत सम्बन्धभन्दा माथि उठेर कानुनअनुसार काम गर्ने संस्कार विकास गर्न सके प्रहरीप्रतिको जनविश्वास थप बलियो हुने उनको भनाइ थियो ।

कार्यक्रममा कर्तव्यपालनका क्रममा सहादत प्राप्त अमर प्रहरीका परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । ‘प्रहरी दर्पण’ कार्यक्रममार्फत सुरक्षित समाज निर्माणमा योगदान पुर्‍याएको भन्दै टिम टेलिभिजन र नेशनल गोल्ड टेलिभिजनलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

दिवसकै अवसरमा वरिष्ठ पत्रकार प्रताप विष्टसहित उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई पनि सम्मान गरिएको थियो ।

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दीपक रेग्मीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलगायत सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?