किष्ट क्यान्सर सेन्टर : प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा

लोकपथ
0
Shares

ललितपुर । किष्ट शिक्षण अस्पतालअन्तर्गत किष्ट क्यान्सर सेन्टरले क्यान्सरका बिरामीलाई लक्षित गर्दै निःशुल्क जनरल बेड र टेलिमेडिसिन सेवा उपलब्ध गराउने भएको छ ।

अस्पतालले प्यालिएटिभ केयर सेवा सुरु गरेको एक वर्ष पूरा भएको अवसर तथा अक्टोबर महिनामा मनाइने स्तन क्यान्सर सचेतना अभियान ‘पिंक अक्टोबर’ को सन्दर्भमा यस्तो घोषणा गरेको हो ।

अस्पतालका अनुसार सन् २०२६ अक्टोबर १२ देखि ३१ सम्म क्यान्सरका बिरामीले निःशुल्क जनरल बेड र टेलिमेडिसिन सेवा प्राप्त गर्न सक्नेछन् । आर्थिक अवस्था कमजोर भएका तथा भौगोलिक कठिनाइका कारण स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन समस्या भोगिरहेका बिरामीलाई लक्षित गरी यो पहल अघि बढाइएको अस्पतालले जनाएको छ ।

यसै अवसरमा अस्पतालले ‘पिंक लाइट्स अफ होप २०२६’ कार्यक्रमसमेत आयोजना गरेको छ । कार्यक्रममा क्यान्सरमुक्त भएका व्यक्तिहरू र चिकित्सकहरूले गुलाबी मैनबत्ती प्रज्वलन गर्दै क्यान्सरविरुद्ध ऐक्यबद्धता व्यक्त गरेका थिए । ‘हरेक मैनबत्तीको आफ्नै कथा हुन्छ’ भन्ने सन्देशसहित आयोजित कार्यक्रमले क्यान्सरविरुद्धको संघर्ष, साहस र आशालाई सम्मान गरेको थियो ।

किष्ट शिक्षण अस्पतालले प्यालिएटिभ केयर सेवामार्फत क्यान्सरलगायत गम्भीर रोगबाट प्रभावित बिरामीको पीडा कम गर्ने, जीवनको गुणस्तर सुधार गर्ने तथा बिरामी र तिनका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने लक्ष्य राखेको छ । यस सेवाले बिरामीको शारीरिक पीडा व्यवस्थापनसँगै उनीहरूलाई आवश्यक साथ र सहयोग प्रदान गर्ने अस्पतालको भनाइ छ ।

पिंक अक्टोबर अभियानका अवसरमा अस्पतालले सर्वसाधारणलाई क्यान्सरसम्बन्धी सचेतना फैलाउन, समयमै स्वास्थ्य परीक्षण गराउन तथा क्यान्सरबाट प्रभावित व्यक्ति र परिवारलाई सहयोग गर्न आग्रह गरेको छ ।

‘हरेक मैनबत्तीमा एउटा कथा, हरेक कथामा आशा’ भन्ने सन्देशका साथ अस्पतालले क्यान्सरविरुद्ध सामूहिक रूपमा अघि बढ्न र बिरामीप्रति संवेदनशील व्यवहार गर्न सबैलाई आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?