काठमाडौं । नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले आफ्नो राजनीतिक जीवनको बाँकी समय धेरैभन्दा धेरै मानिसको विश्वास जित्न खर्चने बताएका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिएका भट्टराई पराजित भएपछि उनले मतदातालाई धन्यवाद दिँदै यस्तो बताएका हुन् ।
भट्टराईले आफूलाई विश्वास गरेर मत दिने महाधिवेशन प्रतिनिधिप्रति आभार व्यक्त गरेका छन् । पार्टीको जिम्मेवारी सम्हाल्न अझ धेरै साथीहरूको विश्वास जित्न आवश्यक रहेको पनि उनले बताएका छन् ।
‘१५औँ महाधिवेशनमा ममाथि विश्वास गरेर मत प्रदान गर्नुहुने सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरूप्रति अनुगृहीत छु,’ उनले भने, ‘तपाईंहरूको विश्वासले मात्र नपुगेर मलाई पार्टीको जिम्मेवारी सम्हाल्ने यात्रामा अझ धेरै साथीहरूको भरोसा जित्न आवश्यक रहेको यस मत परिणामले देखाएको छ ।’
उनले आफूले लाभ र पदका लागि कहिल्यै राजनीति नगरेको उल्लेख गरेका छन् । अहिलेसम्म आफूले पाएको सबैभन्दा ठूलो कुरा मानिसहरूको विश्वास र माया नै रहेको उनको भनाइ छ ।
सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै भट्टराईले आगामी राजनीतिक यात्रामा अझ धेरै मानिसको भरोसा जित्न आफ्नो चेतना, लगाव र समय खर्चने प्रतिबद्धता जनाएका छन् ।
नेपाल विद्यार्थी संघका पूर्वअध्यक्षसमेत रहेका भट्टराई कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदमा तेस्रो धेरै मत प्राप्त गरे पनि निर्वाचित हुन सकेनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया