३४० कार्यदिनको तालिम पूरा गरी ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित

लोकपथ
133
Shares

काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा ३४० कार्यदिन लामो आधारभूत तालिम पूरा गरी आठ महिलासहित ७९ जना प्रहरी निरीक्षक दीक्षित भएका छन् ।

सोमबार आयोजित १८४औँ समूहको दीक्षान्त कवाज समारोहमा उनीहरू दीक्षित भएका हुन् । तालिम पूरा गरेसँगै उनीहरूले नागरिक सेवा, शान्ति सुरक्षा र कानुन कार्यान्वयनको जिम्मेवारी सम्हाल्दै कार्यक्षेत्रमा प्रवेश गरेका छन् ।

प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यका अनुसार २०८२ जेठ २३ गतेदेखि सुरु भएको तालिममा छनोट भएका ७७ जनामध्ये एक जना मिसनमा रहेका छन् । अघिल्लो समूहका तीन जना थपिएपछि तालिममा सहभागी हुने प्रशिक्षार्थीको कुल संख्या ७९ पुगेको हो । दीक्षित हुनेमा ७१ जना पुरुष र आठ जना महिला प्रहरी निरीक्षक छन् ।

शैक्षिक योग्यताका आधारमा १६ जना स्नातकोत्तर र ६३ जना स्नातक उत्तीर्ण छन् । प्रदेशगत रूपमा कोशीबाट १७, मधेसबाट १२, बागमतीबाट ११, गण्डकीबाट १०, लुम्बिनीबाट १६, कर्णालीबाट पाँच र सुदूरपश्चिमबाट आठ जना प्रहरी निरीक्षक दीक्षित भएका छन् ।

कुल १ हजार ३ सय ५० पूर्णाङ्कको तालिममा आन्तरिकतर्फ ६२० र बाह्यतर्फ ७३० अङ्कको मूल्याङ्कन गरिएको थियो । तालिममा प्रहरी प्रशासन, कानुन, अपराध अनुसन्धान, सुरक्षा व्यवस्थापन, फरेन्सिक विज्ञान, शारीरिक प्रशिक्षण, फायरिङ, उद्धार तथा विपद् व्यवस्थापनलगायतका विषय समावेश थिए ।

त्यस्तै, बाह्य अभ्यासअन्तर्गत कवाज, फायरिङ, रक क्लाइम्बिङ, विपद् उद्धार, आपत्कालीन स्वास्थ्य प्रतिकार्य र भिड नियन्त्रणसम्बन्धी व्यावहारिक सीप सिकाइएको थियो । प्रहरी अधिकृतलाई देशको भौगोलिक र सामाजिक अवस्थाबारे जानकारी गराउन सगरमाथा र अन्नपूर्ण आधार शिविर तथा मुगुको थराङला पाससम्म स्थलगत अध्ययन भ्रमणसमेत गराइएको थियो ।

दीक्षान्त समारोहमा बोल्दै डीआईजी आचार्यले प्रहरी अधिकृतको काँधमा रहेको दज्र्यानी चिह्न पदको जिम्मेवारी मात्र नभई नागरिकको भरोसा र राज्यको विश्वाससमेत भएको बताए ।

उनले नवदीक्षित प्रहरी निरीक्षकहरूलाई विधिको शासन कायम गर्न, मानव अधिकारको संरक्षण गर्न र नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिए । कुनै पनि राजनीतिक दबाब वा व्यक्तिगत स्वार्थबाट प्रभावित नभई ‘सत्य सेवा सुरक्षणम्’ को मूलमन्त्रअनुसार इमानदारी, साहस र व्यावसायिकताका साथ जिम्मेवारी निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।

विविध भौगोलिक तथा सामाजिक पृष्ठभूमिबाट आएका प्रशिक्षार्थीलाई राष्ट्रसेवा, जनसुरक्षा र नागरिकमैत्री प्रहरी सेवाको साझा उद्देश्यमा आबद्ध गर्दै व्यावसायिक प्रहरी अधिकृतका रूपमा तयार गरिएको आचार्यले बताए ।

तालिम पूरा गरेका नवप्रहरी निरीक्षकहरूले अब कानुन कार्यान्वयन, अपराध अनुसन्धान, शान्ति सुरक्षा कायम तथा नागरिकको सेवामा आफ्नो जिम्मेवारी निर्वाह गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?