कांग्रेसमा मतदानअघि उम्मेदवारसँग छलफल गर्दै निर्वाचन समिति

लोकपथ
49
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । मतदानअघि निर्वाचन समितिले सभापति, उपसभापति र महामन्त्री पदका सबै उम्मेदवारसँग छलफल गर्ने भएको छ ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार बिहान ११ः३० बजे राष्ट्रिय सभागृहस्थित निर्वाचन कार्यालयमा उम्मेदवारहरूसँग निर्वाचन व्यवस्थापनबारे छलफल हुने छ ।

मतदान दिउँसो १ बजेबाट सुरु हुने भएकाले प्रतिनिधिलाई बिहानैदेखि लाइनमा नबस्न समितिले आग्रह गरेको छ । प्रतिनिधिको प्रदेश र समूहअनुसार छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको छ ।

बागमती प्रदेशका प्रतिनिधिले राष्ट्रिय सभागृहमा रहेको मतदान केन्द्र ‘क’ बाट मतदान गर्नेछन् । कोशी प्रदेश र तराई–मधेस समूहका प्रतिनिधिका लागि खुलामञ्चमा मतदान केन्द्र ‘ख’ तोकिएको छ ।

गण्डकी प्रदेशका प्रतिनिधिले हिमाल हल, मधेस प्रदेशका प्रतिनिधिले तराई–मधेस हलबाट मतदान गर्नेछन् । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थाका प्रतिनिधिले पहाड हलबाट मतदान गर्ने व्यवस्था गरिएको छ ।

मतदानअघि प्रतिनिधिको परिचयपत्र र मतदाता नामावली रुजु गरिनेछ । मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लैजान पाइने छैन ।

कांग्रेसको १५औँ महाधिवेशनमा उम्मेदवारी दर्ता, दाबी–विरोध र उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा भइसकेको छ । अब मतदानबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्य चयन हुनेछन् ।

मतदान सकिएपछि मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ । नयाँ विधानअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनेको छ । नयाँ नेतृत्व चयनका लागि ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?