तातोपानी नाका सञ्चालनका लागि चीनसँग निरन्तर संवादमा छौँ : मन्त्री लम्साल

लोकपथ
42
Shares

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालनमा ल्याउन चीनसँग निरन्तर संवाद भइरहेको बताएका छन् ।

सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री लम्सालले यस्तो जानकारी दिएका हुन् ।

उनले विपद्का कारण नाका सञ्चालनमा समस्या आए पनि सरकारले सडक तथा पूर्वाधार पुनःस्थापनाका लागि तत्काल काम गरिरहेको बताए । उनका अनुसार तातोपानी नाका सञ्चालनका लागि नेपाली पक्ष तयार भए पनि चिनियाँ पक्षबाट अझै अनुमति प्राप्त भएको छैन ।

‘तातोपानी नाकामा नेपाली पक्षलाई कुनै समस्या छैन । नाका सञ्चालनका लागि नेपाली पक्षले बाटो तत्कालै सञ्चालनमा ल्याइसकेको छ । हामी अहिले पनि तयार छौँ । चीन पक्षसँग नियमित संवाद भइरहेको छ,’ मन्त्री लम्सालले भने ।

उनका अनुसार चिनियाँ पक्षले विपद्को अवस्थामा नाका सञ्चालनका लागि अझै ‘ग्रिन सिग्नल’ दिएको छैन । बाढी तथा अन्य विपद्का कारण यस्तो अवस्थामा चिनियाँ पक्ष केही हदसम्म अनिच्छुक हुने गरेको उनले बताए ।

‘हामी प्रयास गरिरहेका छौँ । मलाई लाग्छ, चाँडै नै हामी नाका खोल्न सफल हुनेछौँ,’ उनले भने । मन्त्री लम्सालले चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी पुनः सञ्चालनका लागि पनि सरकारले योजना बनाइरहेको बताए ।

त्यस्तै, नुवाकोटको विदुरलाई ट्रेड सिटी, इन्डस्ट्रियल सिटी र स्याटेलाइट सिटीका रूपमा विकास गर्ने सरकारको योजना रहेको उनले जानकारी दिए । त्यसका लागि मास्टर प्लान तयार गर्ने काम अघि बढाइने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?