काठमाडौं । नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै सञ्चालनमा रहेको नेपा एपले नयाँ संस्करण सार्वजनिक गर्दै दैनिक जीवनमा उपयोगी हुने १० भन्दा बढी नयाँ उपकरण थप गरेको छ ।
एपलाई थप सहज, उपयोगी र बहुउद्देश्यीय बनाउने उद्देश्यले नयाँ उपकरणहरू थप गरिएको नेपा एपले जनाएको छ ।
नयाँ संस्करणमा पीडीएफ कागजात स्क्यान, क्यूआर कोड स्क्यान, इन्टरनेट गति परीक्षण, महिनावारी चक्र विवरण, एकाइ रूपान्तरण, हिसाब गर्ने उपकरण, टिपोट तथा सम्झना, ऋण हिसाब, स्थान पत्ता लगाउने र कर हिसाब गर्ने लगायतका सुविधा समावेश छन् ।
पीडीएफ स्क्यान सुविधाबाट मोबाइलबाटै आवश्यक कागजात स्क्यान गरी पीडीएफ बनाउन सकिनेछ । त्यस्तै, क्यूआर कोड स्क्यानरबाट विभिन्न क्यूआर कोड स्क्यान गर्न र इन्टरनेट गति परीक्षण सुविधाबाट मोबाइलको इन्टरनेट गति जाँच गर्न सकिनेछ ।
महिलाका लागि उपयोगी हुने महिनावारी चक्रसम्बन्धी उपकरणमा महिनावारीको चक्र र सम्बन्धित मितिको विवरण राख्न सकिनेछ । यसबाट महिनावारी हुन सक्ने सम्भावित दिनबारे जानकारी तथा सम्झना गराउने सूचना पनि प्राप्त गर्न सकिनेछ ।
एकाइ रूपान्तरण र हिसाब गर्ने उपकरणले दैनिक आवश्यक पर्ने सामान्य गणना तथा विभिन्न एकाइको रूपान्तरणलाई सहज बनाउनेछ । टिपोट तथा सम्झना सुविधाबाट महत्वपूर्ण कुराहरू सुरक्षित राख्नुका साथै आवश्यक समयमा सम्झाउन सूचना निर्धारण गर्न सकिनेछ । प्रयोगकर्ताले आवाजमार्फत समेत टिपोट सुरक्षित गर्न सक्नेछन् ।
त्यस्तै, ऋण हिसाब गर्ने उपकरणबाट ऋणको किस्ता तथा भुक्तानीसम्बन्धी सामान्य हिसाब गर्न सकिनेछ भने कर हिसाब गर्ने उपकरणबाट आम्दानी तथा करसम्बन्धी अनुमानित गणना गर्न सकिनेछ । स्थानसम्बन्धी सुविधाबाट प्रयोगकर्ताले आफ्नो स्थानको जानकारी प्राप्त गर्न सक्नेछन् ।
नेपा एपका अनुसार नयाँ उपकरण थप गर्नुको उद्देश्य नेपाली प्रयोगकर्ताले दैनिक रूपमा आवश्यक पर्ने विभिन्न डिजिटल सेवा एउटै एपबाट सहज रूपमा प्रयोग गर्न सकून् भन्ने हो ।
आगामी दिनमा प्रयोगकर्ताको आवश्यकता र सुझावअनुसार थप उपयोगी सुविधा तथा उपकरणहरू थप गर्दै जाने एपले जनाएको छ ।
नेपा एपमा यसअघि नै नेपाली पात्रो, पञ्चाङ्ग, राशिफल, नेपाली समाचार, जिल्ला समाचार, नेपाली एफएम रेडियो, चर्चामा रहेका विषयलगायत विभिन्न सामग्री उपलब्ध हुँदै आएका छन् ।
नयाँ उपकरण तथा सुविधाको विस्तारसँगै नेपाली प्रयोगकर्ताका दैनिक आवश्यकता र उपयोगी जानकारी एउटै माध्यमबाट उपलब्ध गराउने लक्ष्य एपले लिएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया