‘एनर्जी भ्याम्पायर’ले २० प्रतिशतसम्म विद्युत खपत गर्न सक्ने अध्ययनको निष्कर्ष छ : उर्जामन्त्री श्रेष्ठ

लोकपथ
28
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले प्रयोग नगरेका विद्युतीय उपकरण स्ट्यान्डबाइमा राख्दा वा चार्जर प्लगमै जोडेर छोड्दा विद्युत्को अनावश्यक खपत बढ्ने बताएका छन् ।

उनका अनुसार यसरी हुने अनावश्यक विद्युत् खपत कुल खपतको ५ देखि २० प्रतिशतसम्म हुनसक्छ । यस्तो खपतलाई ‘एनर्जी भ्याम्पायर’ वा ‘फ्यान्टम इनर्जी’ भन्ने गरिन्छ ।

मन्त्री श्रेष्ठले नेपालमा करिब ६० देखि ६५ लाख विद्युत् उपभोक्ता रहेको भन्दै प्रत्येक घरमा थोरै मात्रामा हुने अनावश्यक खपतले समग्र विद्युत् प्रणालीमा ठूलो असर पार्न सक्ने बताए ।

अनावश्यक विद्युत् खपत घटाउँदा ट्रान्सफर्मरमा पर्ने अतिरिक्त भार कम हुने र विद्युत् आपूर्ति व्यवस्थापन गर्न पनि सहज हुने उनको भनाइ छ । ट्रान्सफर्मरमा बढी भार पर्दा विद्युत् आपूर्तिमा समस्या आउन सक्ने र त्यसको असर उपभोक्ताले नै भोग्नुपर्ने उनले बताए ।

मन्त्री श्रेष्ठले विद्युत् बचत गर्ने अभ्यास घरमा मात्र नभई सरकारी कार्यालयमा पनि लागू गर्नुपर्नेमा जोड दिए । कार्यालय बन्द भएपछि अनावश्यक बत्ती तथा विद्युतीय उपकरण बन्द गर्न स्थानीय, प्रदेश र संघीय सरकारका कार्यालयसँग समन्वय भइरहेको उनले जानकारी दिए ।

सरकारी कार्यालयमा अनावश्यक रूपमा हिटर, पंखा, एसी र बत्ती चलिरहने अवस्था रोक्नुपर्ने उनले बताए ।

पछिल्ला बाढीका कारण ऊर्जा क्षेत्रमा ठूलो क्षति पुगेको र विद्युत्को मागसमेत बढिरहेको अवस्थामा आगामी जाडोमा विद्युत्को मितव्ययी प्रयोग गर्नुपर्ने मन्त्री श्रेष्ठले बताए । बाढीबाट क्षतिग्रस्त ऊर्जा संरचनाको पुनःस्थापना भइरहेकाले अनावश्यक विद्युत् खपत रोक्न सबैले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?