विद्युत् दुर्घटनामा परी गम्भीर घाइते भएका रामेछापका तामाङलाई प्राधिकरणले झण्डै १८ लाख उपलब्ध गराउने

तामाङ ११ केभी वितरण लाइनको अस्थायी स्टेमा छुन पुग्दा करेन्ट लागेर दुर्घटनामा परेका थिए

लोकपथ
49
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् दुर्घटनामा परी गम्भीर घाइते भएका रामेछापका विनोद तामाङलाई उपचार खर्चसहित १७ लाख ७८ हजार ६७६ रुपैयाँ उपलब्ध गराउने भएको छ ।

प्राधिकरण सञ्चालक समितिको बैठकले रामेछाप नगरपालिका–५, सिमल भन्ज्याङ खर्कभितेमा भएको विद्युत् दुर्घटनामा घाइते तामाङलाई उपचार खर्च, कुरुवा खर्च र अंगभंगबापतको क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो ।

२७ वर्षीय तामाङ ११ केभी वितरण लाइनको अस्थायी स्टेमा छुन पुग्दा करेन्ट लागेर दुर्घटनामा परेका थिए । दुर्घटनापछि तामाङको काठमाडौं मेडिकल कलेजमा उपचार गरिएको थियो ।

उपचारका क्रममा लागेको खर्च ७ लाख १८ हजार ६७६ रुपैयाँ, अस्पतालमा भर्ना भएर उपचार गराएको ६० दिनको अवधिका लागि एक जना कुरुवाको खर्चबापत ६० हजार रुपैयाँ र प्राधिकरण दुर्घटना क्षतिपूर्ति विनियमावली, २०६७ अनुसार दुर्घटनाबाट पूर्ण स्थायी असक्तता तथा अंगभंग भएको अवस्थामा क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था छ । सोही व्यवस्थाअनुसार तामाङलाई पूर्ण अंगभंगबापत १० लाख रुपैयाँसमेत गरी १७ लाख ७८ हजार ६७६ रुपैयाँ उपलब्ध गराउने भएको हो । प्राधिकरणले यसअघि तामाङलाई ५ लाख रुपैयाँ पेस्की दिइसकेको छ ।

प्राधिकरण मेडिकल बोर्डले तामाङको उपचारसँग सम्बन्धित बिल, भरपाई, चिकित्सकीय प्रेस्क्रिप्सन तथा अन्य कागजातको अध्ययन गरेको थियो । विशेषज्ञ चिकित्सकसहितको बोर्डले उपचारमा लागेको खर्चमध्ये पेस्की कटाएर बाँकी रकम तथा दुर्घटना क्षतिपूर्तिका लागि भुक्तानी गर्न सिफारिस गरेको थियो ।

विनियमावलीको व्यवस्थाअनुसार २ लाख रुपैयाँसम्मको उपचार खर्चका लागि उपचारमा संलग्न चिकित्सकको सिफारिस पर्याप्त हुने भए पनि सोभन्दा बढी उपचार खर्चका लागि प्राधिकरण मेडिकल बोर्डको सिफारिस आवश्यक हुन्छ । तामाङको उपचार खर्च २ लाख रुपैयाँभन्दा बढी रहेकाले मेडिकल बोर्डबाट आवश्यक अध्ययन तथा सिफारिस गरिएको हो ।

विनियमावलीमा प्राधिकरणले काममा लगाएका म्यादी, करार तथा ज्यालादारी कामदार वा सर्वसाधारण व्यक्ति विद्युत् दुर्घटनामा परी मृत्यु वा घाइते भएमा उपचार तथा क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था छ । त्यस्तै, सामूहिक दुर्घटना बीमा नगरिएको अवस्थामा दुर्घटनाबाट मृत्यु वा गम्भीर क्षति भएमा प्रतिव्यक्ति १० लाख रुपैयाँसम्म क्षतिपूर्ति उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?