काठमाडौं । सरकारले संघीय संसद्को चालु अधिवेशन भोलि राति १२ बजेदेखि अन्त्य गर्न सिफारिस गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै राष्ट्रपति कार्यालयमा पत्र पठाएको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।
संघीय संसद्को चालु अधिवेशन २०८३ साल वैशाख २८ गतेदेखि सुरु भएको थियो । यस अधिवेशनबाट सरकारले ल्याएको बजेट तथा बजेटसँग सम्बन्धित विभिन्न कानुन पारित भएका छन् ।
यस्तै, संसद् अधिवेशन नभएका बेला सरकारले ल्याएका अध्यादेश पनि स्वीकृत भएका छन् । ती अध्यादेशले संशोधन गरेका विषय समेटेर अध्यादेश प्रतिस्थापन विधेयक संसद्मा प्रस्तुत भएका थिए। ती विधेयक पारित भएर ऐनमा परिणत भएका छन् ।
यस अवधिमा मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनुका साथै समसामयिक विषयमा सरकारका मन्त्रीहरूले संसद्मा सम्बोधन गरेका छन् । तर प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भने सञ्चालन हुन सकेन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया