काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नुवाकोट जिल्ला अधिवेशनमा गुट–उपगुटभन्दा माथि उठेर सक्षम नेतृत्व चयन गर्न प्रतिनिधिहरूलाई आग्रह गरेका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै केसीले आज हुन लागेको नुवाकोट जिल्ला अधिवेशनलाई नेतृत्व चयन गर्ने प्रक्रियामात्र नभई जिल्लाको भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसरका रूपमा लिन आग्रह गरेका हुन् ।
उनले जिल्लाको समग्र विकास, कांग्रेस संगठनको सुदृढीकरण र जनताको अपेक्षा पूरा गर्न सक्ने नेतृत्व आवश्यक रहेको बताएका छन् ।
केसीले उम्मेदवारको विगतको योगदान, कार्यक्षमता, जनतामाझको लोकप्रियता र वैचारिक योग्यतालाई आधार बनाएर मतदान गर्न प्रतिनिधिहरूलाई आग्रह गरेका छन् । साथै, कसैको प्रभाव वा दबाबमा नपरी आफ्नो स्वविवेक प्रयोग गर्न उनले अनुरोध गरेका छन् ।
‘आज सम्पन्न हुन गइरहेको ऐतिहासिक नुवाकोट जिल्ला अधिवेशन केवल नेतृत्व चयन गर्ने प्रक्रिया मात्र होइन, हाम्रो सुन्दर र समृद्ध भविष्यको आधारशिला निर्माण गर्ने एक पवित्र महाउत्सव पनि हो,’ उनले भनेका छन् ।
उनले गुट, उपगुट, पक्ष र विपक्षका साँघुरा घेराभन्दा माथि उठेर जिल्लाको विकास र संगठन सुदृढीकरणमा योगदान दिन सक्ने नेतृत्व चयन गर्नुपर्ने बताएका छन् ।
उनले भने,‘कसैको प्रभाव वा दबाबमा नपरी उम्मेदवारको विगतको अतुलनीय योगदान, उहाँको कार्यक्षमता, जनतामाझको जनप्रियता र वैचारिक योग्यतालाई नै मुख्य आधार मानेर आफ्नो निष्पक्ष स्वविवेक प्रयोग गर्नुहुन हार्दिक आग्रह गर्दछु । ’
उनले एउटा विवेकपूर्ण मतले नुवाकोटको इतिहास र भविष्यमा प्रभाव पार्ने भन्दै व्यक्तिगत स्वार्थ त्यागेर सत्य, निष्ठा, वैचारिक पुनर्जागरण र रूपान्तरणको पक्षमा मतदान गर्न प्रतिनिधिहरूलाई आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया