काठमाडौं । लगातारको वर्षापछि आएको बाढीपहिरोका कारण देशको विद्युत् क्षेत्रमा ठूलो क्षति पुगेको छ । विभिन्न जलविद्युत् आयोजना र प्रसारण संरचनामा क्षति हुँदा करिब ८५० मेगावाट विद्युत् उत्पादन प्रभावित भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीपहिरोका कारण २३ वटा जलविद्युत् आयोजनाको उत्पादन रोकिएको छ । यसअघि भोटेकोशी नदीमा आएको बाढीबाट मात्रै ४१३ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनबाट बाहिरिएको थियो ।
बाढीपहिरोको असर कालीगण्डकी, मादी, मर्स्याङ्दी, दोर्दी र सेती क्षेत्रमा रहेका जलविद्युत् आयोजनामा परेको छ । कालीगण्डकी, माथिल्लो मादी, सुपर मादी, नामार्जुन मादी, सेती नदी, अपर दोर्दी, माथिल्लो मर्स्याङ्दी, मध्यमर्स्याङ्दी र मर्स्याङ्दीलगायत आयोजनाको उत्पादन प्रभावित भएको प्राधिकरणले जनाएको छ ।
बाढीपहिरोले जलविद्युत् आयोजनासँगै प्रसारण तथा वितरण संरचनामा पनि क्षति पुर्याएको छ । २२० केभीदेखि ११ केभीसम्मका प्रसारण लाइन तथा संरचनामा क्षति पुगेको छ ।
विशेषगरी कालीगण्डकी करिडोरको दाना–कुश्मा खण्डमा ठूलो क्षति पुगेको छ । म्याग्दीको दानादेखि पर्वतको कुश्मासम्मको २२० केभी प्रसारण लाइनका टावर नम्बर २१ र २२ मा क्षति पुगेपछि त्यस क्षेत्रमा उत्पादित विद्युत् प्रसारण गर्न समस्या भएको छ ।
प्रसारण लाइनमा समस्या आएपछि निलगिरि–१, निलगिरि–२, मिस्त्री खोला, घार खोला, थापा खोला, लेले खोला, घलेम्दी, अपर राहुघाट, राहुघाट मङ्गले, माथिल्लो ठूलोखोला, ठूलोखोला र राहुघाटलगायत १२ आयोजनाको उत्पादन बन्द भएको छ ।
त्यस्तै, कालीगण्डकी करिडोरको कुश्मा–नयाँ बुटवल खण्डमा पनि समस्या आएको छ । उक्त खण्डमा आएको समस्याका कारण मात्रै करिब २०० मेगावाट विद्युत् उत्पादन प्रभावित भएको प्राधिकरणले जनाएको छ ।
बाढीपहिरोका कारण म्याग्दी, बागलुङ, मनाङ र मुस्ताङका विभिन्न क्षेत्रमा विद्युत् सेवा पनि अवरुद्ध भएको छ ।
प्राधिकरणले क्षतिको प्रारम्भिक विवरण संकलन गर्दै विद्युत् सेवा रोकिएका क्षेत्र पहिचान गरी वैकल्पिक माध्यमबाट सेवा सञ्चालन गर्ने काम अघि बढाएको छ । क्षतिग्रस्त संरचना मर्मत गर्न प्राविधिक तथा मर्मत टोली परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया