बाढीले क्षतिग्रस्त रसुवागढी नाका पुनः सञ्चालन गर्न चीनसँग सहयोग माग

लोकपथ
63
Shares

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले बाढीबाट क्षतिग्रस्त रसुवाको पूर्वाधार पुनर्निर्माण तथा रसुवागढी–केरुङ नाका पुनः सञ्चालनका लागि चीन सरकारसँग सहयोग मागेका छन् ।

शुक्रबार सिंहदरबारमा नेपालका लागि चिनियाँ राजदूत वाङ माओमिङसँग भएको भेटवार्तामा मन्त्री लम्सालले रसुवागढी नाका तत्काल सञ्चालनमा ल्याउन आवश्यक सहयोगका लागि आग्रह गरेका हुन् ।

भोटेकोसीमा आएको बाढीका कारण नेपालको प्रमुख व्यापारिक नाका रसुवागढी बन्द भएको उल्लेख गर्दै उनले तत्कालका लागि पुरानै स्थानबाट अस्थायी सडक तथा यातायात सञ्चालन गरी स्थानीयलाई राहत दिने गरी सरकारले काम गरिरहेको बताए ।

मन्त्री लम्सालले स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको सडकखण्ड तत्काल सञ्चालनमा ल्याउन चीनको सहयोग आवश्यक रहेको बताए । साथै, काठमाडौं–रसुवागढी–केरुङ सडकको दीर्घकालीन विकासका लागि नयाँ विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी आवश्यक स्थानमा ट्रयाक खोल्ने काम अघि बढाइएको जानकारी दिए ।

उनले कोरला र तातोपानी नाका प्रभावकारी रूपमा सञ्चालन गर्न पनि चीन सरकारको सहयोग आवश्यक रहेको बताए ।

भेटमा चिनियाँ राजदूत वाङले चीन नेपालका असल मित्र तथा छिमेकीका रूपमा नेपाललाई हरसम्भव सहयोग गर्न तयार रहेको बताए । उनले रसुवागढी नाकाको पुनर्निर्माण र सञ्चालनका लागि विशेष अध्ययन गरी दीर्घकालीन तथा प्रभावकारी पूर्वाधार निर्माण गर्नुपर्ने धारणा राखे ।

राजदूत वाङले कोरला र तातोपानी नाका सञ्चालनका लागि चीन सरकार सकारात्मक रहेको बताए । रसुवागढी नाकाको पुनर्निर्माण तथा सञ्चालनसम्बन्धी विशेष प्रस्ताव नेपाल सरकारले पठाए आवश्यक समन्वय र सहयोगका लागि पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?