काठमाडौं । युएईमा रहेका नेपालीले अब नयाँ राहदानी (पासपोर्ट) लिन दूतावास वा महावाणिज्यदूतावास धाउनुपर्ने झन्झट हटेको छ ।
युएईस्थित नेपाली महावाणिज्यदूतावास, दुबैले नयाँ बनेको राहदानी हुलाक सेवामार्फत आवेदकको ठेगानामै पुर्याउने व्यवस्था मिलाएको हो ।
यसअघि नयाँ राहदानी लिनकै लागि महावाणिज्यदूतावास पुग्नुपर्ने बाध्यता थियो । कामबाट छुट्टी नमिल्ने, समय र यात्रा खर्च बढी लाग्ने भन्दै सेवाग्राहीले राहदानी घरमै उपलब्ध हुने व्यवस्था गर्न माग गर्दै आएका थिए ।
सेवाग्राहीको मागलाई सम्बोधन गर्दै महावाणिज्यदूतावासले युएईको सरकारी हुलाक सेवा ‘इमिरेट्स पोस्ट’सँग समन्वय गरी राहदानी डेलिभरी सेवा सुरु गरेको जनाएको छ ।
यो सेवा लिन राहदानी आवेदनका क्रममा बायोमेट्रिक दिने समयमै महावाणिज्यदूतावासमा डेलिभरी फाराम भर्नुपर्नेछ । नेपालबाट नयाँ राहदानी बनेर आएपछि महावाणिज्यदूतावासले उक्त राहदानी इमिरेट्स पोस्टलाई हस्तान्तरण गर्नेछ ।
त्यसपछि इमिरेट्स पोस्टले सम्बन्धित आवेदकको ठेगानामै राहदानी पुर्याउनेछ । राहदानी डेलिभरीका क्रममा सेवाग्राहीले इमिरेट्स पोस्टलाई १५.७५ दिराम डेलिभरी शुल्क बुझाउनुपर्नेछ ।
महावाणिज्यदूतावासका अनुसार यो सेवा पूर्ण रूपमा ऐच्छिक हो । आवश्यक पर्ने सेवाग्राहीले मात्र राहदानी घरमै डेलिभरीको सुविधा लिन सक्नेछन् ।
नयाँ व्यवस्थाले युएईका टाढा–टाढाका क्षेत्रमा कार्यरत हजारौँ नेपाली श्रमिकलाई राहदानी लिन महावाणिज्यदूतावाससम्म पुग्नुपर्ने झन्झटबाट राहत मिल्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया